हेटौंडा, मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा प्रहरी उपरीक्षक विश्वराज खड्का र प्रहरी नायव उपरीक्षक श्यामु अर्यालसंग शुक्रबार हेटौंडामा छलफल कार्यक्रम आयोजना गरिएको थियो । संघका अध्यक्ष प्रमोद सिंह रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरमा सेवा अवधि पूरा गरी सरुवा प्रक्रियामा रहेका दुई प्रहरी अधिकृतलाई धन्यवादसहित शुभकामना दिइएको थियो।
अध्यक्ष रानाभाटले जिल्लाको सुरक्षा व्यवस्था कायम गर्न देखाएको नेतृत्व, व्यवसायिक समस्या समाधानमा देखाएको सक्रियता र निर्वाचनमा मर्यादा कायम गर्न दिएको सहयोगप्रति आभार प्रकट गरे । डीएसपी श्यामु अर्यालले सुरक्षा बिना उद्योग–व्यवसाय चल्न नसक्ने भन्दै लागूऔषध नियन्त्रण, चाडपर्वमा हुने चोरी नियन्त्रण, बजार क्षेत्रमा सिसिटिभी मर्मत तथा प्रहरी–व्यवसायीबीचको सहकार्य अपरिहार्य रहेको धारणा राखेका थिए ।
त्यसैगरी एसपी विश्वराज खड्काले मकवानपुरमा एक वर्षे सेवाकालमा व्यवसायिक वातावरण सहज पाएको अनुभव सुनाउँदै विदाइ कार्यक्रममा आभार व्यक्त गरे । उनले रात्रीकालीन होटल सञ्चालनका लागि सुरक्षा व्यवस्थासहित सहजता निर्माण, गाजा–अफिम–चरेश जस्ता लागूऔषध नियन्त्रण, दुव्र्यसन घटाउने प्रयास तथा आसन्न दशैंमा विशेष सुरक्षा योजना बनाइसकेको जानकारी दिए।
संघका निवर्तमान अध्यक्ष कृष्णकुमार गुप्ताले व्यवसायिक समस्या तत्काल सम्बोधन गर्ने खड्काको नेतृत्व सराहनीय भएको उल्लेख गर्दै नराम्रा अनुभव भुलेर राम्रा अनुभवलाई अंगाल्न आग्रह गर्नुभयो। कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दीपक उप्रेती र महासचिव प्रतिमा श्रेष्ठले पनि मन्तव्य राखेका थिए।






