हेटौँडा, संविधान जारी भएको १० वर्षको अवसरमा बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस मनाएको छ। प्रदेश सरकारले शुक्रबार औपचारिक कार्यक्रम गर्दै १० औँ संविधान दिवस मनाएको हो।
कार्यक्रममा प्रमुख अतिथि रहेका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सुशासन, पारदर्शिता र जवाफदेहितासहित जनताले प्रत्यक्ष अनुभूति गर्ने परिणाममुखी काम गर्न सरकार र सरोकारवालालाई आह्वान गरे। उनले संविधान जनताको बलिदानको उपलब्धि भएको उल्लेख गर्दै यसले राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्य र न्यायपूर्ण समाज निर्माणमा प्रेरणा दिने विश्वास व्यक्त गरे।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले ‘जेनजी’ आन्दोलनपछि देखिएको अन्योल चिर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सबै दल, प्रशासन र सुरक्षा निकाय एकजुट हुनुपर्ने बताए। पूर्वमुख्यमन्त्री तथा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले युवाहरूको आन्दोलनलाई दलहरूको कमजोरीको परिणाम बताउँदै प्रमुख दलहरूले जिम्मेवारी लिनुपर्नेमा जोड दिए।
उनले वर्तमान सरकार संविधानले नचिन्ने दाबी गर्दै देश गम्भीर राजनीतिक संकटमा फसेको टिप्पणी गरे। प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा कार्यक्रममा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, एकीकृत समाजवादीका नेता कृष्णप्रसाद शर्मा खनाल, प्रदेश सरकारका मन्त्री, सांसद र कर्मचारीहरूको उपस्थिति रहेको थियो।
पछिल्लो समय भएको जेन जी आन्दोलनका कारण महत्वपूर्ण क्षती व्यहोरेको बागमती प्रदेशको संविधान दिवसको कार्यक्रम समेत प्रभावित भएको छ । यसअघिका वर्षमा र्याली सहित बजार परिक्रममा गरी विभिन्न कार्यक्रम सहित सम्पन्न हुने दिवसको कार्यक्रम यसपटक औपचारिक समारोहमा मात्र सीमित बनेको थियो ।






