एसइई नतिजा: मकवानपुरबाट १३ जनाले ल्याए ४ जीपीए

सुजन ढकाल
हेटौँडा, माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजामा मकवानपुर जिल्लाबाट १३ जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन्। शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका अनुसार गत वर्ष जिल्लाबाट ४ जिपिए ल्याउने विद्यार्थी संख्या ५ जना रहेकोमा यस वर्ष बढेर १३ पुगेको हो।

ADVERTISEMENT

४ जिपिए ल्याउनेमध्ये नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयबाट वृष्टि जयस्वाल, परजन्य कुशवाहा र पूर्णता गोर्खाली, जीएस निकेतन माध्यमिक विद्यालयबाट एलेक्स घिमिरे, समीक्षा यादव र रौनक भण्डारी, बालजागृति इङ्लिस सेकेण्डरी विद्यालयबाट देविना सञ्जेल र रेनिसा सापकोटा, ब्रम्हदिक एकेडेमीबाट कृष्मा लौडारी र आभास घिमिरे रहेका छन्। त्यसैगरी आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयबाट प्रशान्त यादव, फ्यामकल एकेडेमीबाट कृपा रिजाल तथा बालज्योति माध्यमिक विद्यालयबाट सुभम खनालले ४ जिपिए प्राप्त गरेका छन्। यस वर्ष मकवानपुरको समग्र उत्तीर्ण प्रतिशत ५०.९९ प्रतिशत पुगेको छ, जुन गत वर्ष ४६.८६ प्रतिशत थियो।

त्यस्तै, संस्थागततर्फ ६ विद्यालयले सतप्रतिशत नतिजा हासिल गरेका छन्। सतप्रतिशत नतिजा ल्याउने विद्यालयहरूमा बालजागृति इङ्लिस सेकेण्डरी विद्यालय, ज्ञानोदय बालबाटिका आवासीय माध्यमिक विद्यालय, तुल्सी मेहर मेमोरियल माध्यमिक विद्यालय, पालुङ मोर्डन इङ्लिस स्कुल, पालुङ भ्याली हार्ट एकेडेमी र पालुङ इङ्लिस बोर्डिङ स्कूल रहेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका शाखा अधिकृत संगिता घलेले जानकारी दिनु भयो । यता, सामुदायिक विद्यालयतर्फ भने कुनै पनि विद्यालयले सतप्रतिशत नतिजा ल्याउन सकेनन्। साथै जिल्लाका चार विद्यालयको नतिजा शून्य आएको शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरले जनाएको छ। शिक्षा विकास तथा समन्वय इकाइका अनुसार राक्सिराङ गाउँपालिकाका तीन विद्यालय र भीमफेदी गाउँपालिकाको एक विद्यालयका सबै विद्यार्थी अनुत्तीर्ण भएका हुन्।

शून्य नतिजा आउने विद्यालयहरूमा कालिका माध्यमिक विद्यालय, राष्ट्रिय माध्यमिक विद्यालय, माध्यमिक विद्यालय तथा पञ्चकन्या माध्यमिक विद्यालय रहेका छन्। गत वर्ष पनि जिल्लाका ७ विद्यालयको नतिजा शून्य आएको थियो भने यस वर्ष उक्त संख्या घटेर ४ मा सीमित भएको छ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *