हेटौंडा, थाहा नगरपालिकामा रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले पाँच करोड भन्दा बढी नाफा आर्जन गरेको छ ।
आर्थिक बर्ष २०८०/०८१ को असार मसान्तसम्म कर अगाडि संस्थाले ५ करोड २९ लाख नाफा गर्न सफल रहेको संस्थाका सह व्यवस्थापक रामप्रसाद ढकालले जानकारी दिए । साथै, संस्थामा १० हजार ७ सय सेयर सदस्य पुगेको र ऋणी सदस्य ३३५६ रहेको बताउदै आर्थिक बर्ष २०८०/०८१ को खाता बन्दी सम्ममा बचत ७४ करोड ५० लाख र ऋण लगानी ९७ करोड ३० लाख र तरलता २२ प्रतिशत रहेको जानकारी दिएका छन ।
गत आर्थिक बर्षमा संस्थाको निक्षप संकलन ५८ करोड र ऋण लगानी ९५ करोड रहेको थियो। थाहा नगरपालिका वडा न ४ थाना बजारमा मुख्य कार्यालय रहेको संस्थाले हेटौंडा तथा बज्रवाराहीमा पनि सेवा केन्द्र खोली सेवा दिदै आइरहेको छ।
हाल संस्थाले ऋण तथा बचत,लघुबित्त सेवा ,रासायनिक मल बिक्री वितरण ,लगायत कृषि क्षेत्रमा हाइटेक नर्सरी ,कोल्ड चेम्बर,कृषि तथा पशु प्राविधिक सेवा र यो बर्ष देखि तरकारी बजारीकरण समेत प्रदान गर्दै आइरहेको संस्थाका मुख्य व्यवस्थापक प्रकाश पौडेल बताउछन् ।
हाल सहकारीले सहकारी बजार विकास कार्यक्रमका साथै प्रविधिको उच्चत्तम प्रयोगलाई आत्मसाथ गरिरहेको संस्थाका कार्यवाहक अध्यक्ष कृष्ण बहादुर बिष्ट बताउछन विष्टका अनुसार संस्थाले ईन्टरनेट बैंङ्किङ ,मिसकल बैंङ्किङ,कनेक्ट आइपियस सेवा,रेमिटेन्स सेवा सहित मानव संसाधन विकास अन्तर्गत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम गोष्ठीमा सहभागी गराउदै आइरहेको बताए। स्थापना कालदेखिनै शेयर सदस्यहरुलाई १५ प्रतिशत नघटाई लाभांश दिदै आयको सस्थाले यस बर्ष पनि सहकारी संस्थाहरुले वितरण गर्न सक्ने अधिकतम प्रतिशत अर्थात १८ प्रतिशत लाभांश यस आर्थिक बर्षमा पनि दिन सक्षम भएको छ।
राष्ट्रिय कर दिवस २०८० को अवसरमा थाहा नगरपालिकामा रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सम्मानित भएको थियो।







