हेटौंडामा विकृति र विसङ्गति माथि व्यङ्ग्य

सुजन ढकाल
हेटौंडा, राजनीतिक, सामाजिक लगायत हरेक क्षेत्रको विकृतिप्रति खुलेर व्यङ्ग्य प्रहार गर्ने माध्यम गाईजात्रा हो । हेटौंडामा आयोजना भएको गाईजात्रा विशेष व्यङ्ग्य कार्यक्रममा उपस्थिती भरिभराउ थियो ।

सिस्नुपानी नेपाल मकवानपुरले आयोजना गरेको गाईजात्रा विशेष व्यङ्ग्य कार्यक्रममा मकवानपुरे साहित्यकार नै कलाकारको रुपमा प्रस्तुत भएका थिए । हेटौंडाको पार्टी प्यालेसमा आयोजना गरेको कार्यक्रममा दर्शकको हाँसो र खित्काले प्यालेस नै गुञ्जायमान भएको थियो । गाईजात्रा विशेष व्यङ्ग्य कार्यक्रममा खाडो जगाउने, संसदको परिचय र सांसदहरुलाई आसन ग्रहण, संसदको कारवाही सुरु हुनुभन्दा अगाडि सांसद गान रहेको थियो । सभामुख डिबी बर्तौलाबाट संसदको कारबाही सुरुमा मर्यादापालक बैकुण्ठ लामिछाने, सुवास सजल र सविता तिमल्सिना रहेका थिए । यसैगरी गायत्री नेपालको कविता वाचन, स्वस्तिका दाहालको प्यारोडी गीत, धामी झाँक्री प्रहसन, पुरुषोत्तम आचार्यको कोराना महामारी सम्बन्धि व्यङ्ग्य गीत, आरसी रिजाल र राजकुमार लामिछानेको चिठ्ठी वाचन प्रहसन, अजय फुयाँलको प्यारोडी गीत र आशाकाजी श्रेष्ठको स्ट्याण्डअप कमेडी प्रस्तुत भएको थियो ।

विकट गाउँमा अझै देख्न सकिने धामी झाँक्री, ३३ किलो सुन काण्डलाई लिएर धामी झाँक्री प्रहसनमार्फत साहित्यकार मिनप्रसाद लामिछाने, सानुभाइ विक र ओमभक्त भण्डारीले झटारो प्रहार गरेका थिए । मकवानपुरे साहित्यकार पुरुषोत्तम आचार्यले ‘कोरोना महामारी…’ गीतमार्फत व्यङ्ग्य प्रहार गरेका थिए ।

मुख्य विषयवस्तु राजनीति भएतापनि हरेक विषयवस्तुलाई समेटेर गाईजात्रा प्रस्तुत गरिएको सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेले बताए । हेटौँडा उपमहानगरपालिका वडा नं. ४ को विशेष सहयोगमा सिस्नुपानी नेपाल मकवानपुरको आयोजनामा हेटौंडामा दोस्रो पटक गाईजात्रा विशेष व्यङ्ग्य कार्यक्रम भएको हो । कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधि तथा सर्वसाधारण उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button