थाहा, थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लबको व्यवस्थापनमा सञ्चालन हुन लागेको छैटौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगिता असार ३ गतेदेखि थाहा नगरपालिका–३ स्थित इन्द्रायणी चौर खेल मैदानमा सुरु हुँदैछ।
प्रतियोगिताको उद्घाटन खेल असार ३ गते बिहान ११ बजे थाहा–७ र थाहा नगरपालिका टोलीबीच हुनेछ। उद्घाटन समारोह तथा खेल अवलोकनका लागि आयोजकले सम्पूर्ण खेलप्रेमी, जनप्रतिनिधि, समाजसेवी तथा नगरवासीलाई उपस्थित हुन हार्दिक निमन्त्रणा गरेको छ।
यस वर्षको प्रतियोगितामा ७ वटा टोलीको सहभागिता रहनेछ। सार्वजनिक गरिएको खेल तालिकाअनुसार समूह ‘ए’ अन्तर्गत उद्घाटन खेल थाहा–७ र थाहा नगरपालिका बीच हुनेछ भने दोस्रो खेल पारिजात स्मृति क्लब र कुर्दन एकेडेमीबीच हुने छ। समूह ‘बी’ मा सक्रिय युवा क्लब थाहा–४ र चित्लाङ एफसीबीच पहिलो खेल हुनेछ। आयोजक शिखर क्लबले भने पहिलो चरणमा ‘बाइ’ पाएको छ।
प्रतियोगिताको विजेताले नगद २ लाख, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीले १२ हजार ५०० पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर तथा सर्वाधिक गोलकर्ता (हाइ स्कोरर) लाई जनही ६ हजार २५० प्रदान गरिने आयोजकले जनाएको छ।
खेलाडीहरूको सुरक्षालाई ध्यानमा राख्दै प्रतियोगितामा सहभागी सबै खेलाडीको बीमा व्यवस्था समेत गरिएको छ। स्थानीय स्तरमा फुटबल खेलको विकास, प्रतिभा पहिचान तथा खेल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको थाहा गोल्डकपले यस वर्ष पनि खेलप्रेमीहरूमा उत्साह थपेको छ। प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ।






