मुख्यमन्त्रीले उद्घाटन गरे दोस्रो प्रदेश खेलकुद प्रतियोगिता

हेटौंडा, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले बागमती प्रदेशको दोस्रो खेलकुद प्रतियोगिताको उद्घाटन गरेका छन् । आइतबार साँझ बागमती प्रदेशको राजधानी हेटौंडाको पिप्ले–क्याम्पा रंगशालामा मुख्यमन्त्री जमरकट्टेलले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

प्रदेश खेलकुदको उद्घाटन गर्दै मुख्यमन्त्री जमरकट्टेलले बागमती प्रदेश सरकारले खेल क्षेत्रलाई विशेष महत्व दिएको दावी गरे । प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले यस प्रतियोगिता खेलाडी उत्पादनमा महत्वपूर्ण हुनसक्ने दावी गरिन् । उनले आगामी वर्षहरुमा पनि यस प्रतियोगितालाई निरन्तरता दिँदै जाने बताइन् । प्रतियोगिताको उसु, जुडो खेल काठमाण्डौमा हुनेछ भने पौडी खेल ललितपुरमा र क्रिकेट खेल चितवनमा हुने प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले बताए । प्रतियोगिताका फुटबल, भलिबल, एथलेटिक्स, तेक्वान्दो, कँराते, बक्सिङ, रग्वी, ब्याडमिन्टन, आइटिएफ तेक्वान्दो खेलहरु भने हेटौंडाका विभिन्न खेल मैदानमा हुने जनाइएको छ ।

प्रतियोगितामा विभिन्न बिधाका एक हजार ७५ महिला, एक हजार ४ सय २७ पुरुष खेलाडीहरुको सहभागीता रहने छन् भने १ सय ७३ जना प्रशिक्षक एक सय ४२ जना व्यवस्थापक, दुई सय ७६ जना निर्णायकको सहभागीता रहेको छ । सम्पूर्ण खेल आयोजना गर्न सरकारले करिब नौ करोड ४२ लाख रुपैयाँ खर्च गर्न लागेको हो । सामाजिक विकास मन्त्री कुमारी मोक्तानको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सभा सदस्यहरु, स्थानीय तहका प्रमुखहरु, ओलम्पियन खेलाडी, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुको आतिथ्यता रहेको थियो । उद्घाटन पूर्व विभिन्न झाँकी सहित मार्चपास गरिएको थियो भने प्रहरीले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button