१० दिनमा मेची–महाकाली साइकलयात्रा समापन

हेटौंडा, मेची–महाकाली साइकल यात्रामा सहभागी हेटौंडाका साइकलप्रेमी ११ जना र बुटवलका २ जना गरी १३ जनाले १० दिनमा मेचीमहाकाली १०२८ किमिको दूरी पार गरेका छन् । समूहले कात्तिक ११ गते शनिबार झापाको सीमावर्ती बजार मेचीनगरबाट सुरु गरेको साइकलयात्रा गत मंगलबार समापन गरी बुधबार हेटौंडा फर्केको हो । साइकलयात्रा टोलीमा सहभागीले उत्साहजनकरुपमा यात्रा सम्पन्न भएको जनाएका छन् ।

ADVERTISEMENT

कात्तिक ११ गते शनिबार कोजाग्रत पूर्णिमाको दिन बिहान ८ बजे मेचीनगरस्थित नेपाल–भारत सीमानाकाको मेची पुलबाट साइकलयात्रा सुरु गरेको टोलीले १० दिनमा यात्रा सम्पन्न गरी ११ औ दिनको बिहान कञ्चनपुरको गड्डाचौकी भन्सार नाकामा पत्रकार सम्मेलन गरी यात्रा समापन भएको जनाएका थिए । साइकलयात्रामा सहभागी सदस्यमध्ये लक्ष्मीचरण श्रेष्ठ र भानुभक्त आचार्यले २५ वर्षको अन्तरालमा दोस्रो पटक मेची–महाकाली साइकल यात्रा गरेका छन् ।

स्वास्थ्य, पर्यावरण, पर्यटन र साइकल संस्कृति विकासको निम्ति साइकल भन्ने सकारात्मक सन्देस प्रवाह गर्दै हिमालयन राईडर्स सोसाइटी हेटौंडाको समन्वयमा सोसाइटीका संस्थापक अध्यक्ष चेतनाथ आचार्यको नेतृत्वमा यात्रा सुरु गरिएको थियो । सोसाइटीका उपाध्यक्ष राजु थापामगरका अनुसार यात्राअवधिमा विभिन्न जिल्लाका साइकल साथीहरुले सहयोग गरेका थिए । आगामी दिनमा निर्माण गरिने सार्वजनिक यातायातका पूर्वाधारमा साइकल लेन, साइकल पार्किङ, अपा·मैत्री लेन समाबेश गर्न पनि सोसाइटीले आग्रह गरेको सोसाइटीका अध्यक्ष रामकुमार श्रेष्ठले बताए ।

ADVERTISEMENT

साइकलयात्रामा एक जना महिलाको पनि सहभागिता रहेको थियो । हेटौंडा–४ की सीता श्रेष्ठले मेचीमहाकाली साइकलयात्रा सफलतापूर्वक सम्पन्न गर्ने मकवानपुरको पहिलो महिलाको रुपमा परिचय बनाएकी छिन् । ३५ वर्षदेखि ६५ वर्षसम्मका १३ जनाले साइकलयात्रा गरेका थिए । २०५४ माघ महिनामा सामान्य साइकलमा हेटौंडाका ११ जनाले मेचीमहाकाली यात्रा गरेका थिए । भिजिट नेपाल ९८ को अवसरमा हेटौंडाको सहीद स्मारकलगायतका पर्यटकीयस्थलको जानकारी दिनका लागि ब्यक्तिगत खर्चमा उनीहरुले साइकलयात्रा गरेका थिए । ११ जनामध्ये २ जनाले पूर्वबाट हेटौंडासम्म साइकलयात्रा गरी बीचैमा यात्रा स्थगित गरेका थिए भने ९ जनाले १६ दिन लगाएर मेची–काली साइकलयात्रा पूरा गरेका थिए ।

२५ वर्षअघिको पूर्वपश्चिम राजमार्गको अवस्था र बर्तमान अवस्थामा निकै फरक आएको र अहिले गियर सहितको साइकल उपलब्ध भएका कारण १० दिनभित्र यात्रा सम्पन्न गर्न सकिएको उनीहरुले बताएका छन् । ब्यक्तिगत खर्चमा उनीहरुले मेची–काली साइकलयात्रा गरेका हुन् ।

टोलीमा लक्ष्मीचरण श्रेष्ठ, भानुभक्त आचार्य, चेतनाथ आचार्य, बुद्धिबहादुर आलेमगर, राजु थापामगर, लेखनाथ ढकाल, सरोज लामिछाने, ओकिलराज बानियाँ, दुर्गाप्रसाद लामिछाने, सुशीलकुमार चौधरी (बुटवल), सुरज खत्री (बुटवल), विकास बानियाँ, सीता श्रेष्ठ रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *