समान ज्यालाको माग गर्दै मकवानपुरका नर्सहरू आन्दोलनमा

हेटौँडा, मकवानपुरका स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्सहरु आन्दोलित भएका छन् । समान काम र समान ज्यालाको माग गर्दै उनीहरुले बुधबारदेखि २ घण्टा अत्यावश्यक बाहेकका नर्सिङ सेवा बन्द गरेका हुन् । 

ADVERTISEMENT

नेपाल नर्सिङ संघको राष्ट्रव्यापी आन्दोलनको आह्वान अनुसार, नर्सहरुले आफ्ना मागहरू पूरा गराउन दबाब दिँदै बिहान १० बजेदेखि १२ बजेसम्म काम रोकेर विरोध प्रदर्शन गरेका हुन् । संघको पूर्वनिर्धारित कार्यक्रमअनुसार, यो आन्दोलनको दोस्रो चरण हो ।

यसअघि गत कात्तिक ४ गतेदेखि ११ गतेसम्म मकवानपुरका नर्सहरुले हेटौंडा अस्पताल लगायत जिल्लाका सबै स्वास्थ्य संस्थामा हातमा कालोपट्टी बाँधेर सेवा प्रदान गरेका थिए । माग सुनुवाइमा नभएपछि आन्दोलनलाई थप सशक्त बनाइएको नेपाल नर्सिङ संघ मकवानपुरकी अध्यक्ष गंगा दाहालले बताइन् ।

उनका अनुसार कात्तिक १८ गतेसम्म हरेक दिन बिहान २ घण्टा सेवा बन्द गरिनेछ । नर्सहरुको आन्दोलन मुख्यतया निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुको श्रम शोषण विरुद्ध केन्द्रित रहेको उनले बताइन् । निजी अस्पताल तथा शिक्षण संस्थाहरुमा कार्यरत नर्सहरुको न्यूनतम पारिश्रमिक र सेवा सुविधा सरकारी सरह हुनुपर्ने माग रहेको उनको भनाइ छ ।

सरकारले नर्सहरुको न्यूनतम तलब पाँचौं तह अनुसार ३४ हजार ७३० रुपैयाँ तोकेको भए तापनि धेरै निजी संस्थाहरुले अत्यन्तै न्यून पारिश्रमिकमा काम लगाइरहेको उनले गुनासो गरिन् । १८ गतेसम्म पनि माग सुनुवाई नभए स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यदलको प्रतिवेदनअनुसार आन्दोलनका कार्यक्रम थप गर्ने पनि अध्यक्ष दाहालले बताइन् ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *