हेटौंडा, हेटौंडा–२ मा रहेको बालजागृति इङ्लिस सेकेण्डरी विद्यालय बालमैत्री विद्यालय घोषणा भएको छ । हेटौंडा २ मा रहेको बालजागृति विद्यालयले बालमैत्री स्थानीय शासन युक्त विद्यालयसँग सम्बन्धित सबै सूचक पूरा गरेको भन्दै हेटौंडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामाले पहिलो बालमैत्री विद्यालय घोषणा गरेकी थिइन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेशप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा २०७९ सालको एसईई परीक्षा उत्कृष्ट विद्यार्थी र विषयगत शिक्षकलाई नगदसहित सम्मानित गरिएको विद्यालयका प्रिन्सिपल विनोद सुवेदीले जानकारी दिए । विद्यार्थीलाई ३ दशमलव ४६ जीपिए ल्याउन योगदान पु¥याएको भन्दै अङ्गेजी विषयका अमुल श्रेष्ठ, नेपाली विषयका निर्मल घिमिरे, गणित विषयका लालकाजी परियार, विज्ञान विषयका प्रेम हमाल र देवराज ढुंगेल, वातावरण तथा जनसंख्या शिक्षा विषयका उमेश अर्याल, ऐच्छिक प्रथम(गणित) विषयका खुसी न्यौपाने, कम्प्युटर विज्ञानमा राज सुवेदी, लेखा विषयका अशोक मैनालीलाई ८/८ हजार रुपैयाँसहित सम्मानित गरिएको हो ।
यस्तै २०७९ एसईईमा सुविज्ञा सुवेदी, रिजन कठायतलाई ३ दशमलव ९ जीपीए ल्याएको भन्दै १०/१० हजार रुपैयाँसहित सम्मान पत्रले सम्मानित गरिएको छ । हेटौंडा २ मा रहेको बालजागृति विद्यालयले बाजा गाजासहितको ¥यालीले नगर परिक्रमा गरेको थियो । कार्यक्रममा बालजागृतिका स्काउट विद्यार्थीले मार्चपास गर्नुका साथै विद्यार्थीले गायन, नृत्य तथा बालमैत्री विषयमा नाटक प्रस्तुत गरेका थिए । विद्यालयको प्राङ्गणमा शैक्षिक प्रदर्शनी र स्वास्थ्य शिविर कार्यक्रम भएको थियो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, राष्ट्रिय परीक्षा बोर्ड हेटौँडाका प्रमुख कृष्ण घिमिरेलगायतको आतिथ्य रहेको थियो ।







