हेटौँडा, हेटौँडा उपमहानगरपालिका–२ स्थित बालजागृति इङ्लिस सेकेण्डरी विद्यालयको आयोजनामा पहिलो पटक जिल्लामा राष्ट्रियस्तरको ११औँ स्क्राबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ।
विहीबार आयोजित पत्रकार सम्मेलनमा विद्यालयका प्रधानाध्यापक बिनोद सुवेदीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। दुई दिनसम्म चल्ने प्रतियोगितामा मकवानपुर, चितवन, काठमाडौँ, भक्तपुर, गोरखा, स्याङ्जा, रुपन्देही, गुल्मी, सुर्खेत, सुनसरी, बारा, अर्घाखाँची, कैलालीलगायत विभिन्न जिल्लाबाट निर्धारित कोटाका आधारमा करिब एक सयभन्दा बढी विद्यार्थी सहभागी हुने स्क्राबल क्लबका अध्यक्ष केशवप्रसाद पराजुलीले बताए।
पहिलो दिन बिहान ८ बजेदेखि साँझ ७:२० बजेसम्म ११ खेल सञ्चालन हुने तालिका रहेको छ। दुई दिने कार्यक्रम सञ्चालन गर्न करिब १३ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको विद्यालयले जनाएको छ। प्रतियोगितामा प्रथम हुनेले १५ हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन्।
द्वितीयले १३ हजार, तृतीयले ११ हजारसहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै चौथोदेखि सातौँ स्थान हासिल गर्ने प्रतियोगीले क्रमशः ९ हजार, ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार पाउने छन्।
आठौँ, नवौँ र दशौँ स्थान प्राप्त गर्नेले ३ हजार रुपैयाँ तथा ११ औँ देखि २५औँ स्थानसम्मका प्रतियोगीले २र२ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने व्यवस्था गरिएको छ। उत्कृष्ट २५ भित्र पर्ने सहभागीहरू अन्तराष्ट्रिय स्क्राबल प्रतियोगितामा सहभागिता जनाउने अवसर पाउने छन्। राष्ट्रव्यापी प्रतियोगिताका लागि मकवानपुर जिल्लाबाट ६ जना प्रतियोगी छनोट भएका छन्।







