हेटौँडा, महेन्द्र राजमार्ग अन्तर्गतको सडक मर्मत गर्न कांग्रेस हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१९ समितिले ७ दिने अल्टिमेटम दिएको छ । मकवानपुरको हेटौँडा बजारको राप्ती पुलदेखि लोथर सिमाना सम्मको सडक खण्ड तत्काल मर्मत सम्भार गर्न कांग्रेस हेटौँडा–१९ इकाई समितिले माग गरेको हो ।
समितिले उक्त सडक मर्मतको माग गर्दै सडक डिभिजन कार्यालय हेटौँडालाई ७ दिने अल्टिमेटम सहित ध्यानाकर्षण गराएको छ । समितिले सडक डिभिजन कार्यालयका प्रमुख किरण कार्कीलाई एक ध्यानाकर्षण पत्र बुझाएका हुन् । उनीहरूले पत्र प्राप्त भएको मितिले बढीमा ७ दिनभित्र मर्मत कार्य सुरु गर्न माग गरेको गरेका छन् । तोकिएको समय सीमाभित्र काम सुरु नगरिए आम नागरिक, यात्रु र सरोकारवालालाई एकजुट गरी बाध्य भएर सडकमा उत्रिई शान्तिपूर्ण जनदबाबमूलक आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना हुने चेतावनी समितिले दिएको छ ।
आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सम्बन्धित निकायले नै लिनुपर्ने पत्रमा उल्लेख छ । वडा इकाई सभापति सुरज बर्तौलाका अनुसार देशको प्रमुख राजमार्गको अवस्था पछिल्लो समय अत्यन्तै दयनीय र जोखिमपूर्ण बन्दै गएको छ । सडकका विभिन्न स्थानमा ठूला–ठूला खाल्डाखुल्डी हुनु, सडकको किनार भत्किएर गहिरा खाल्टा परेको र सडकको सतह ठाउँ ठाउँमा उक्किने कारण सवारी साधन सञ्चालनमा गम्भीर कठिनाइ उत्पन्न भइरहेको उनले बताए ।
सडकको उक्त अवस्थाका कारण दैनिक जसो मोटरसाइकल तथा अन्य सवारी साधन दुर्घटनामा पर्ने गरेको, सवारी साधनमा ठुलो क्षति पुग्ने गरेको र यात्रुहरूले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको उनको भनाई छ । सर्वसाधारणको नियमित कामकाज, रोजगारी, व्यवसाय, समय, आर्थिक अवस्था र सुरक्षामा समेत प्रत्यक्ष असर पारेको उनले बताए । पटक पटक मौखिक जानकारी गराउँदा पनि बेवास्ता भएपछि लिखित पत्र पठाउनुपरेको उनको भनाइ छ ।
‘हामी समाधान चाहन्छौँ । हामी शान्ति र नागरिकका सामान्य सुविधामा सहज होस् भनी हातेमालो गर्न चाहन्छौँ । विवाद, अवरोध अनि आन्दोलन हाम्रो चाहाना होइन’ उनले भने, ‘जनताको जीवनसँग प्रत्यक्ष जोडिएको सडक सुरक्षाको विषयलाई सामान्य रूपमा नलिई उच्च प्राथमिकताका साथ तत्काल आवश्यक बजेट, जनशक्ति र प्राविधिक व्यवस्थापनसहित मर्मत सम्भार कार्य अघि बढाउन पर्छ ।’







