‘संविधानको रक्षा र समृद्धीका लागि गठबन्धनले जित्नुपर्छ’

हेटौंडा, मकवानपुर क्षेत्र नम्बर १ (क) का प्रदेश सभा सदस्य उम्मेदवार प्रेमबहादुर पुलामी ‘छिन्तु’ले संविधानको रक्षा, विकास र समृद्धीका लागि गठबन्धनको जित अति आवश्यक रहेको बताए । बकैया गाउँपालिका २, धियाल स्थित सरस्वती भमरामा लोकतान्त्रिक बाम गठबन्धनद्धारा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रियामा बोल्दै उनले धियालको जनताको घरमा आगो लगाउनेहरु नै यही क्षेत्रमा विपक्षी उम्मेदवार बनेर आएकाले सचेत रहन आग्रह गरे ।

ADVERTISEMENT

‘जनताको घरमा आगो लगाउँनेहरुलाई जिताएर पठाएमा देश अशान्तिको भुमरीमा पर्ने र प्राप्त उपलब्धी गुम्ने खतरा हुन्छ,’ उनले बताए । धियालबासीलाई जग्गाको लालपुर्जा वितरण गर्न आवश्यक पहल भईरहेको भन्दै नेकपा माओवादी केन्द्रका बागमती प्रदेश उपाध्यक्ष समेत रहनु भएका उहाँले मकवानपुर र बारा जिल्लाको सिमा विवाद तथा खानेपानी लगायतका समस्या समाधान गर्न थप पहल गरिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर १ की प्रतिनिधी सभा सदस्य उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डीना’ले उक्त क्षेत्रमा महत्वपूर्ण र ठुला विकासको योजनाहरु संचालन गर्न प्रतिबद्धता व्यक्त गरिन । ‘यो क्षेत्रका समस्याहरुबारे परिचित रहेकाले योजनाबद्ध ढंगले केन्द्र सरकारबाट पहल गर्नेछु,’ नेपाली काँग्रेसकी सहमहामन्त्री डीनाले भनिन्, ‘धियालबासीलाई जग्गाको लालपुर्जा चाँडै वितरण गर्न तथा मकवानपुर र बारा जिल्लाको सिमा विवाद समाधान गर्न सक्दो पहल गर्नेछु ।’ कार्यक्रममा लोकतान्त्रिक बाम गठबन्धन बकैया गाउँपालिका २ नम्बर वडाका संयोजक अशोक जिम्बाको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *