जेनजी आन्दोलनमा क्षतिग्रस्त बागमती प्रदेशका भवन पुनर्निर्माण, मुख्यमन्त्री बानियाँद्वारा उद्घाटन

हेटौँडा, गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बागमती प्रदेश सरकारका विभिन्न भवनहरूको पुनर्निर्माण सम्पन्न भएको छ। पुनर्निर्माण सम्पन्न भएसँगै सोमबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले चार मन्त्रालय रहेको मुख्य प्रशासनिक भवनको उद्घाटन गरेका हुन्।

ADVERTISEMENT

सहरी विकास तथा भवन कार्यालय मकवानपुरले मर्मत, सम्भार तथा पुनर्निर्माण कार्य सम्पन्न गरेपछि भवन हस्तान्तरण कार्यक्रम आयोजना गरिएको थियो। कार्यालय प्रमुख भूपेन्द्र यादवका अनुसार उक्त भवनको मर्मत तथा पुनर्निर्माणका लागि एक करोड २८ लाख रुपैयाँमा ठेक्का सम्झौता गरी काम सम्पन्न गरिएको हो।

भवन हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले जनताप्रति पारदर्शी, जवाफदेही र उत्तरदायी भएर काम गरिरहेको बताए। मन्त्रालयसहित प्रदेशका विभिन्न कार्यालयमा आगजनी र तोडफोड भएपछि असहज परिस्थितिमा सेवा प्रवाह गर्नुपरेको उल्लेख गर्दै उनले अब पुनर्निर्माणपछि पूर्ववत् सहज रूपमा कार्यसम्पादन गर्ने वातावरण बनेको बताए।
उनले सातै प्रदेशमध्ये जेनजी आन्दोलनबाट क्षतिग्रस्त सरकारी भवनहरूको पुनर्निर्माण कार्य सबैभन्दा पहिले सम्पन्न गर्ने प्रदेश बागमती भएको दाबी गरे।

यसैगरी, भौतिक पूर्वाधार विकास मन्त्री डा। दिनेशचन्द्र देवकोटाले क्षतिग्रस्त भवनहरूको मर्मत तथा पुनर्निर्माणमा संरचनात्मक सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको बताए। आगजनीका कारण भवनका संरचना कमजोर बनेकाले विज्ञ तथा स्ट्रक्चरल इन्जिनियरहरूको टोलीमार्फत प्राविधिक अध्ययन गरी पुनर्निर्माण गरिएको उनले जानकारी दिए। उनका अनुसार भवनका डन्डीहरू कति तापक्रममा प्रभावित भएका छन्, संरचना कति सुरक्षित छ भन्ने विषयमा विस्तृत इन्जिनियरिङ अध्ययनसमेत गरिएको थियो।

कार्यालय प्रमुख यादवका अनुसार क्षतिग्रस्त अन्य संरचनाको मर्मत तथा पुनर्निर्माणका लागि कुल तीन करोड ९५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरी काम सम्पन्न गरिएको छ। प्रदेशका चार मन्त्रालय रहेको भवनसहित प्रदेश सभा सचिवालय, सामाजिक विकास मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा प्रमुख सचिवको निवास गरी पाँच वटा भवन पुनर्निर्माण सम्पन्न गरिएको उनले बताए।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *