हेटौँडा, जेसीआई हेटौँडा वर्ष २०२६ को नेतृत्वका लागि सम्पन्न निर्वाचनबाट सन्तोष पराजुली अध्यक्ष पदमा निर्वाचित भएका छन्। शनिबार हेटौँडामा सम्पन्न शाखाको अधिवेशन अन्तर्गत भएको निर्वाचनमा पराजुलीले आफ्ना प्रतिस्पर्धी जीवन ढकाललाई पराजित गर्दै विजय हासिल गरेका हुन्। कुल १८७ मत खसेको निर्वाचनमा पराजुलीले १०७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी ढकालले ७८ मत ल्याएका छन्। निर्वाचन समितिका अनुसार खसेका मतमध्ये २ मत बदर भएका थिए।
अध्यक्षसँगै पराजुलीको सम्पूर्ण प्यानल नै नेतृत्वमा आएको छ। उनका प्यानलबाट कार्यकारिणी उपाध्यक्षमा संजय कुमार न्यौपाने र विपिन ताम्राकार तथा उपाध्यक्ष पदमा विवेक बानिया, अशोक सिंह, विनोद वाग्ले र सृजनराज बज्राचार्य निर्विरोध निर्वाचित भएका छन्।
विजयीपछि प्रतिक्रिया दिँदै नवनिर्वाचित अध्यक्ष पराजुलीले जेसीआईको मर्म र मूल्यअनुसार युवाहरूको व्यक्तित्व तथा नेतृत्व विकासमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले जेसीआई हेटौँडालाई अझ प्रभावकारी र सशक्त संस्थाको रूपमा अगाडि बढाउन सबै पक्षलाई समेटेर अघि बढ्ने बताए।
जेसीआई हेटौँडा युवाहरूको नेतृत्व र व्यक्तित्व विकासमा सक्रिय संस्था हो। यहाँ हरेक वर्ष लोकतान्त्रिक पद्धतिबाट नयाँ नेतृत्व चयन गर्ने परम्परा रहेको छ।






