बागमती प्रदेशमा धान उत्पादन ०.२५ प्रतिशतले वृद्धि

हेटौँडा, बागमती प्रदेशका जिल्लाहरूमा यस वर्ष धानबाली उत्पादनमा सामान्य वृद्धि भएको छ। बागमती प्रदेश कृषि विकास निर्देशनालयका अनुसार अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८२/८३ मा धान उत्पादन शून्य दशमलव २५ प्रतिशतले बढेको हो। अघिल्लो वर्षको तुलनामा यस वर्ष बाढी–पहिरोको प्रभाव कम पर्नुका साथै रोग–किराको प्रकोप पनि न्यून रहेकाले धान उत्पादनमा वृद्धि भएको बागमती प्रदेश कृषि विकास निर्देशनालयका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ नवीन कुँवरले जानकारी दिए।

ADVERTISEMENT

उनका अनुसार चालु आव २०८२/८३ मा प्रदेशभर कूल एक लाख आठ हजार ८२० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ। प्रतिहेक्टर ४ दशमलव १५ मेट्रिक टनका दरले चार लाख ५१ हजार ७८ मेट्रिक टन धान उत्पादन भएको छ। अघिल्लो आव २०८१/८२ मा एक लाख पाँच हजार ४१५ हेक्टर क्षेत्रफलमा धान खेती भई प्रतिहेक्टर ३ दशमलव ८७ मेट्रिक टनका दरले चार लाख आठ हजार ३१६ मेट्रिक टन उत्पादन भएको थियो। यस्तै आव २०८०/८१ मा एक लाख नौ हजार १५१ हेक्टर क्षेत्रफलमा धान खेती गरी चार लाख १३ हजार ९८८ मेट्रिक टन धान उत्पादन भएको थियो।

प्रदेशमै सबैभन्दा बढी धानखेती हुने चितवन जिल्लामा यस वर्ष २७ हजार ३२५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ४ दशमलव ९६ मेट्रिक टनका दरले एक लाख ३५ हजार ५३२ मेट्रिक टन धान उत्पादन भएको छ। नुवाकोटमा ११ हजार ६१५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ४ दशमलव १३ मेट्रिक टनका दरले ४७ हजार ९७८ मेट्रिक टन र धादिङमा ११ हजार १५९ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ४ दशमलव २३ मेट्रिक टनका दरले ४७ हजार २०३ मेट्रिक टन धान उत्पादन भएको छ।

ADVERTISEMENT

काठमाडौँ उपत्यकाका जिल्लामध्ये काठमाडौँमा तीन हजार ६०० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ४ दशमलव ९८ मेट्रिक टनका दरले १७ हजार ९२८ मेट्रिक टन, ललितपुरमा चार हजार १२८ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ४ दशमलव ७८ मेट्रिक टनका दरले १९ हजार ७३२ मेट्रिक टन र भक्तपुरमा दुई हजार ६९७ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ५ दशमलव ५३ मेट्रिक टनका दरले १४ हजार ९१४ मेट्रिक टन धान उत्पादन भएको निर्देशनालयले जनाएको छ।

यसैगरी मकवानपुरमा आठ हजार ४९३ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ३ दशमलव ८८ मेट्रिक टनका दरले ३२ हजार ९५१ मेट्रिक टन, सिन्धुलीमा १२ हजार ३८५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ३ दशमलव ७६ मेट्रिक टनका दरले ४६ हजार ५६८ मेट्रिक टन र काभ्रेपलाञ्चोकमा आठ हजार १९८ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ४ दशमलव २१ मेट्रिक टनका दरले ३४ हजार ५१४ मेट्रिक टन धान उत्पादन भएको छ।

रामेछापमा सात हजार ४६६ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर २ दशमलव ६९ मेट्रिक टनका दरले २० हजार ८४ मेट्रिक टन, सिन्धुपाल्चोकमा सात हजार ९०० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ३ दशमलव ०३ मेट्रिक टनका दरले २३ हजार ९३७ मेट्रिक टन धान उत्पादन भएको छ।

यस्तै दोलखामा दुई हजार ७५८ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर २ दशमलव ६५ मेट्रिक टनका दरले सात हजार ३०८ मेट्रिक टन र रसुवामा एक हजार ९५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर २ दशमलव २२ मेट्रिक टनका दरले दुई हजार ४३१ मेट्रिक टन धान उत्पादन भएको निर्देशनालयले जनाएको छ। समयमै वर्षा हुनु र रोग–किराको प्रकोप कम हुनु यस वर्ष उत्पादन बढ्नुका मुख्य कारण रहेको सूचना अधिकारी कुँवरले बताए। अघिल्लो वर्ष २०८१ असोज ११ र १२ गतेको अविरल वर्षा तथा बाढी–पहिरोका कारण धानबालीमा क्षति पुग्दा उत्पादनमा १ दशमलव ३७ प्रतिशतले ह्रास आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *