हेटौँडा, मकवानपुरको राक्सिराङ गाउँपालिकाले गाउँसभाको उन्नाइसौँ (हिउँदे) अधिवेशन आह्वान गरेको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ ९२० बमोजिम गाउँपालिकाले पुस २३ गते बिहान ११ बजे गाउँपालिकाको कार्यालय, चैनपुरस्थित सभाहलमा अधिवेशन आयोजना गर्न लागेको हो।
अधिवेशनको प्रारम्भिक सत्रसँगै राक्सिराङ गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरिने गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिएका छन्। उनका अनुसार उक्त भवनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्ने कार्यक्रम तय भएको छ।
अधिवेशनमा चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा, आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन ऐन, बजेट तथा कार्यक्रम संशोधन, न्यायिक समितिको प्रतिवेदन प्रस्तुतिका साथै आगामी आर्थिक वर्षसम्मका लागि गाउँपालिकाको कर तथा शुल्क नियमित गर्ने विषयमा छलफल हुनेछ। साथै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमा समेत महत्वपूर्ण छलफल हुने जनाइएको छ। गाउँपालिकाले अधिवेशनको निर्धारित मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थित हुन सम्पूर्ण गाउँसभा सदस्यहरूलाई अनुरोध गरेको छ।







