ढुक्क भएर सामुदायिक विद्यालयमा आफ्ना बालबालिका पढाउनुस् : वडा अध्यक्ष सिग्देल

हेटौँडा, हेटौँडा–४ मा रहेका सामुदायिक विद्यालयहरूमा गुणस्तरीय शिक्षा सुनिश्चित गरिएकाले आफ्ना बालबालिकालाई ढुक्क भएर सामुदायिक विद्यालयमै पढाउन वडा अध्यक्ष नवीन सिग्देलले आग्रह गर्नुभएको छ।

ADVERTISEMENT

कर्रा टोल विकास संस्थाको ८औँ साधारणसभाको उद्घाटन गर्दै वडा अध्यक्ष सिग्देलले शिक्षा विकासका लागि जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति तथा विद्यालय प्रशासन समन्वयका साथ सक्रिय रूपमा लागिरहेको बताउनुभयो। उहाँका अनुसार वडाभित्रका सामुदायिक विद्यालयहरूले बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म सुविधा सम्पन्न र गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छन्।

वडा अध्यक्ष सिग्देलले विद्यालयको भौतिक पूर्वाधार, सुविधा सम्पन्न प्रयोगशालाहरू, स्तरीय बाल विकास केन्द्र, दक्ष तथा अनुभवी शिक्षक, व्यवहारिक शिक्षाका लागि विविध अतिरिक्त क्रियाकलाप र तालिमको व्यवस्था गरिएको जानकारी दिनुभयो। साथै, शिक्षक तथा विद्यार्थीलाई सम्मान र पुरस्कार प्रदान गर्ने, प्रतिस्पर्धात्मक तथा सिर्जनात्मक गतिविधिहरू सञ्चालन गर्ने कार्यमा विद्यालय र वडा कार्यालयले प्राथमिकताका साथ काम गरिरहेको उहाँको भनाइ थियो।

संस्थागत तथा सामुदायिक विद्यालयबीच सहकार्य र स्वस्थ प्रतिस्पर्धाबाट शिक्षा गुणस्तर सुधार गर्ने लक्ष्य राखिएको पनि वडा अध्यक्ष सिग्देलले स्पष्ट पार्नुभयो। हेटौँडा–४ भित्र भुटनदेवी माध्यमिक विद्यालय, आधुनिक माध्यमिक विद्यालय र श्रमिक माध्यमिक विद्यालय सामुदायिक विद्यालयका रूपमा रहेका छन्। साधारणसभामा वडा अध्यक्ष सिग्देलले आगामी २०८४ सालसम्म वडाभित्रका सबै मुख्य तथा भित्री सडकहरू कच्ची सडक र खाल्डाखुल्डीमुक्त बनाइने लक्ष्य लिइएको जानकारी दिनुभयो। उहाँले आफू निर्वाचित भएपछि मुख्य सडकहरू करिब ८० प्रतिशत र भित्री सडकहरू करिब ९० प्रतिशत स्तरीकरण गरी कच्ची सडक र खाल्डाखुल्डीमुक्त बनाइएको दाबी गर्नुभयो।

साधारणसभाबाट अजिव भट्टराईको अध्यक्षतामा अर्जुन पोखरेल सचिव रहेको ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको निर्वाचन समितिका संयोजक केशव अर्यालले जानकारी दिनुभयो। प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गर्दै साधारणसभा संस्थाका अध्यक्ष चन्द्राकान्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *