हेटौँडा, पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेमा आज दिउँसो ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना४ख ८९२१ नम्बरको ट्रक र मनहरीबाट ज्यामिरेतर्फ आउँदै गरेको ना४६प ६०२८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक मनहरी गाउँपालिका–७ निवासी ४० वर्षीय सूर्यबहादुर मोक्तान गम्भीर घाइते भएका थिए।
दुर्घटनामा घाइते मोक्तानको मनहरी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि पुरानो मेडिकल कलेज, चितवनमा भर्ना गरिएकोमा उपचारकै क्रममा आज दिउँसो करिब ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो।
ठक्कर दिने ट्रक र चालक हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङ निवासी ५४ वर्षीय बुद्धिबहादुर स्याङ्तानलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ।






