हेटौँडा, बागमती प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालय हेटौंडालाई ३० वटा मोटरसाइकल हस्तान्तरण गरेको छ। आज आयोजित एक कार्यक्रममा प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक अरुण पौडेललाई मोटरसाइकल हस्तान्तरण गर्नुभएको हो।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट उपलब्ध गराइएको ९० लाख ७० हजार रुपैयाँको बजेटबाट प्रदेश प्रहरी कार्यालय हेटौंडाले ३० वटा टिभिएस कम्पनीका मोटरसाइकल खरिद गरेको हो।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले हस्तान्तरण गरिएका मोटरसाइकलले फागुन २१ गते हुने निर्वाचनको सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। जेन–जी आन्दोलनका क्रममा प्रहरीका केही सवारी साधन ध्वस्त भएकाले सुरक्षामा समस्या देखिएको उल्लेख गर्दै उहाँले थोरै संख्यामा भए पनि नागरिक सुरक्षाका लागि यी मोटरसाइकल उपयोगी हुने बताउनुभयो।
कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रदेश सरकारले प्रहरीका लागि हरेक वर्ष भवन निर्माणलगायतका क्षेत्रमा आर्थिक सहयोग गर्दै आएको जानकारी दिनुभयो।
त्यसैगरी, बागमती प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले जेन–जी आन्दोलनपछि सुरक्षा निकाय सवारी साधनको अभावमा रहेकाले मोटरसाइकल हस्तान्तरणले महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।
कार्यक्रमको समापन गर्दै प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक अरुण पौडेलले प्राप्त दुई पाङ्ग्रे सवारी साधनहरू विभिन्न जिल्लाका प्रहरी कार्यालयलाई हस्तान्तरण गरिने जानकारी दिनुभयो। साथै, आगामी दिनमा प्रदेश सरकारले प्रहरीका लागि चार पाङ्ग्रे सवारी साधनसमेत उपलब्ध गराइदिन आग्रह गर्नुभयो।
कार्यक्रममा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव रामबहादुर पुरी, आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तर्गत शान्ति सुरक्षा महाशाखाका प्रमुख पदम ओझा, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाईं लगायतको उपस्थिति रहेको थियो।







