हेटौंडा, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष रामकृष्ण कोइरालाले संजिवनी अटिजम केयर सेन्टरलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्। शुक्रबार हेटौंडा–४ हुप्राचौरमा सरस्वती पूजाको शुभ अवसरमा सम्पन्न सेन्टरको उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष कोइरालाले तत्काल नगद ५ हजार रुपैयाँ सहयोगस्वरूप हस्तान्तरण गरे। साथै, चालु वर्षका लागि दुई महिनाको कोठा भाडा आफ्नै खर्चमा तिरिदिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा उनले जनप्रतिनिधि भाषणमा मात्र सीमित नरही समाजका संवेदनशील र महत्वपूर्ण कार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। अटिजम भएका बालबालिका तथा उनीहरूको परिवारले भोग्दै आएको कठिनाइलाई मध्यनजर गर्दै सेन्टर स्थापना गरिएको र आर्थिक अभाव रहेको कुरा सुन्दा आफू भावुक भएको वडाध्यक्ष कोइरालाले बताए।
उनले आगामी वर्षका लागि छ महिनाको अग्रिम कोठा भाडा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। साथै, भविष्यमा स्थानान्तरण गर्नुपर्ने अवस्था आएमा वडा नम्बर १६ भित्र मापदण्ड पूरा गर्ने कुनै उपयुक्त विद्यालय उपलब्ध गराउने आश्वासन पनि दिए।
वडाध्यक्ष कोइरालाको यो सहयोग पहिलो भने होइन। उनले यसअघि पनि आफ्नै वडा मात्र नभई अन्य वडाका समस्याग्रस्त व्यक्तिहरूलाई व्यक्तिगत तथा संस्थागत रूपमा सहयोग गर्दै आएका छन्। उनका यस्ता कार्यहरूले जनप्रतिनिधिप्रति जनमानसमा सकारात्मक सन्देश प्रवाह भएको स्थानीयवासीहरूको भनाइ छ।






