नवोदयका विद्यार्थीले गेडागुडीबाट बनाए नेपालको नक्सा

हेटौँडा, हेटौँडा–४ स्थित नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूले विभिन्न प्रकारका गेडागुडी प्रयोग गरी नेपालको भौगोलिक नक्सा तयार गरेका छन्। विद्यार्थीहरूले स्थानीय कृषि उत्पादन तथा खाद्यान्न बालीको महत्त्वलाई सिर्जनात्मक रूपमा प्रस्तुत गर्दै शैक्षिक परियोजना प्रदर्शनीमा उक्त नक्सा प्रदर्शन गरेका हुन्।

ADVERTISEMENT

विद्यालयमा मङ्गलबार कक्षा ६ देखि ९ सम्मका विद्यार्थीलाई लक्षित गरी विषयगत शैक्षिक परियोजना प्रदर्शनी आयोजना गरिएको थियो। प्रदर्शनीमा कक्षा ८ का नौ जना विद्यार्थीले रैथाने राजमा, सिमी, धान, बोडी, केराउ, मकै र भटमासलगायतका गेडागुडी प्रयोग गरी नेपालको नक्सा तयार पारेका थिए।

कृष जिम्बा, सक्षम पाण्डे, विनायक श्रेष्ठ, कौस्तुभ दुलाल, श्रीश कर्माचार्य, दिव्या लक्ष्मी भट्ट, आश्ना रिजाल, अश्लेषा बज्राचार्य र सुबिक्षा खड्काले संयुक्त रूपमा तयार पारेको उक्त नक्साले दर्शकको ध्यान आकर्षित गरेको थियो। विद्यार्थीहरूले विद्यालयले उपलब्ध गराएको प्लाइबोर्डमा गमको सहायताले विभिन्न दलहन तथा खाद्यान्न बालीका दाना टाँसेर नक्सालाई आकर्षक स्वरूप दिएका थिए।

नेपालको ठूलो जनसङ्ख्या कृषिमा आश्रित रहेको तथ्यलाई विद्यार्थीहरूले आफ्नो सिर्जनामार्फत प्रतिबिम्बित गर्ने प्रयास गरेका छन्। विभिन्न प्रदेशमा उत्पादन हुने प्रमुख खाद्यान्न बालीलाई आधार मानी नक्सा तयार गरिएको विद्यालयका सामाजिक विषयका सुपरिवेक्षक रविन्द्र कार्कीले बताए। विद्यार्थीहरूले आफ्नै सिर्जनात्मक सोच र सीप प्रयोग गरी गेडागुडीबाट नेपालको नक्सा तयार पारेको उनले जानकारी दिए।

विद्यार्थीको सिर्जनशीलता, व्यावहारिक ज्ञान र विषयगत सिकाइलाई अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक, कम्प्युटर र हाम्रो हेटौँडा विषयसँग सम्बन्धित विभिन्न शैक्षिक सामग्री तथा परियोजना प्रस्तुत गरिएका थिए। कार्यक्रम संयोजक शाश्वत् श्रेष्ठका अनुसार प्रत्येक विषयका दुईवटा प्रदर्शनी कक्ष (स्टल) मार्फत विद्यार्थीहरूले आफूले सिकेका ज्ञान, सीप र अवधारणालाई व्यवहारमा उतारेर प्रदर्शन गरेका थिए।

नेपाली विषयअन्तर्गत काल र पक्ष, नेपाली शब्द निर्माण खेल, पदवर्ग, शब्दभण्डार तथा उखान–टुक्कासम्बन्धी सामग्री प्रस्तुत गरिएको थियो। अङ्ग्रेजी विषयअन्तर्गत व्याकरण जासुस एजेन्सी, कथा वाचकको क्याफे, वाक्य निर्माणकर्ता तथा विचार र सम्पादकीय समाचार कक्षजस्ता सिर्जनात्मक परियोजना प्रदर्शन गरिएका थिए।

विज्ञान विषयअन्तर्गत हाइड्रोजन ग्यास उत्पादन, जैविक ग्यास निर्माण, जैविक इन्धनका डल्ला निर्माण, स्वपरागसेचन, परपरागसेचन, हरितगृह, वर्षाको पानी सङ्कलन, मूत्र प्रणाली, सानो प्वालबाट तस्बिर खिच्ने क्यामेरा तथा जलीय र स्थलीय पारिस्थितिक प्रणालीसम्बन्धी परियोजना प्रस्तुत गरिएको थियो।

गणित विषयमा त्रिभुज, प्रिज्म, असंयुक्त समुच्चय तथा प्रतिच्छेदी समुच्चय र पारिस्थितिक वन पुनःवनीकरण ग्रिडसम्बन्धी सामग्री प्रदर्शन गरिएका थिए। त्यसैगरी, कम्प्युटर विषयमा क्रमबद्ध कार्यविधि तथा प्रवाहचित्र, व्याकरण यन्त्र, कम्प्युटर स्थानीय क्षेत्र सञ्जालको नमुना र साइबर सुरक्षासम्बन्धी परियोजना प्रस्तुत गरिएको थियो।

सामाजिक विषयअन्तर्गत नेपालको भौगोलिक नक्सा, सौर्यमण्डल, विश्वव्यापी तापक्रम वृद्धि, रसुवाको विपद् व्यवस्थापन तथा विपद् र विपद् व्यवस्थापनसम्बन्धी सामग्री प्रदर्शन गरिएका थिए। ‘हाम्रो हेटौँडा’ विषयअन्तर्गत हेटौँडामा विपद् जोखिम हुन सक्ने स्थान तथा विपद्का अवस्थामा उपमहानगरपालिकाले निर्वाह गर्ने भूमिकासम्बन्धी परियोजना प्रस्तुत गरिएको थियो।

प्रदर्शनीमा विद्यार्थीहरूले पाठ्यपुस्तकमा अध्ययन गरेका विषयवस्तुलाई व्यावहारिक तथा सिर्जनात्मक ढङ्गले प्रस्तुत गरेका थिए। प्रदर्शनीको कक्षा १ देखि ६ सम्मका विद्यार्थी, अभिभावक तथा शिक्षकहरूले अवलोकन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya