हेटौँडा, बागमती प्रदेश स्तरीय विज्ञान प्रदर्शनीमा हेटौँडाको बालजागृति इङ्लिस माध्यमिक विद्यालय प्रथम भएको छ । हेटौँडा–२ मा अवस्थित बालजागृतिले विद्यालयले सिजि मोर्टस तथा फास्ट चार्ज सम्बन्धित प्रयोगात्मक प्रदशनीहरु देखाउँदै पहिलो स्थान हात पारेको थियो ।
शनिबार हेटौँडा स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा शिक्षा निर्देशनालय बागमती प्रदेशद्वारा आयोजित उक्त प्रदर्शनी कार्यक्रममा १२ वटा जिल्लाका विद्यालयहरू सहभागी भएका थिए । विज्ञानको प्रयोगात्मक प्रदर्शनीमा स्थानीय तहबाट नै छनौट हुँदै जिल्ला र प्रदेशसम्म आएका १२ जिल्लाका १२ विद्यालयहरूको उपस्थिति रहेको थियो । प्रदर्शनीमा चितवन माडी माध्यमिक विद्यालय दोस्रो, भक्तपुरको आदर्श माध्यमिक विद्यालय तेस्रो र सिन्धुपाल्चोकको कृष्णरत्न गंगा माध्यमिक विद्यालय सान्त्वना हुन सफल भएका थिए ।
शिक्षा निर्देशनालय बागमती प्रदेशका महानिर्देशक गोपालप्रसाद कडेँलको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्री कन्चन चन्द्र बादेको प्रमुख आतिथ्यमा पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई क्रमशः नगद २५ हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो । निर्णायक मण्डलले स्थानीय सामग्रीको उपलब्धता, आर्थिक व्ययभार, प्रस्तुतीकरण, प्रभावकारिता लगायतका विषय निर्धारण गरी उनीहरूको प्रस्तुतिको मापन गरेका थिए । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव खुविराम अधिकारीलगायतको आतिथ्य रहेको थियो ।






