हेटौंडा, किताबघर हेटौंडाको पुस्तक प्रदर्शनी यात्राका क्रममा बालबालिकाहरूमा किताबप्रतिको मोह अत्यधिक पाइएको छ । आज दोस्रो दिनको प्रदर्शनीमा माउन्ट एभरेस्ट इङलिस बोर्डिङ स्कुल, हेटौंडा ८ मा डेढ सयभन्दा बढी बालबालिकाले किताब खरिद गरेका छन् । कार्यक्रममा अभिभावकहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो ।
किताबले बालबालिकामा सिर्जनात्मक परिवर्तन ल्याउने भएका कारण पनि आफूहरू बालबालिकाका लागि किताब लिन आएको अभिभावकहरूको भनाइ छ । माउन्ट एभरेस्ट पहिलोपटक यस्तो प्रदर्शनी आयोजना गरिएकाले पनि अभिभावक तथा विद्यार्थीहरूले विशेष महत्त्व दिएका थिए । हेटौंडा ८, कमानेस्थित कमाने एकेडेमीबाट मंगलबार सुरु गरिएको ुकिताबघर पुस्तक प्रदर्शनी यात्रा २०८०ु अब शुक्रबार हेटौंडा १८ स्थित मकवानपुर बाल विद्या सदनमा हुनेछ । असोज महिनाभर चल्ने प्रदर्शनीमा हेटौंडा उपमहानगरपालिकाका आठवटा विद्यालय समेटिने भएका छन् । असोज १६ गते जनप्रिय मावि, हटिया, १९ गते रेड रोज इङलिस स्कुल, २३ गते प्रगति मावि, २६ गते बालजागृति इङलिस स्कुल हुँदै ३० गते ज्ञानदीप शिक्षा ९जीएस० निकेतनमा सम्पन्न हुने किताबघरका सञ्चालक छवि अनित्यले बताएका छन् ।
प्रदर्शनीमा विद्यार्थीहरूले आफूलाई मनपरेका किताब खरिद गर्न सक्नेछन् । यसका लागि किताबघरले नेपाली तथा अङ्ग्रेजी भाषासाहित्य, इतिहास, विज्ञान, खेलकुद लगायतका चार सय बढी शीर्षकका बालपुस्तक उपलब्ध गराएको छ ।







