हेटौँडा, मकवानपुर प्रहरीले अबैध रूपमा ल्याइएका सात वटा गोरु सहित एक मिनी आइचर ट्रकलाई नियन्त्रणमा लिएको छ।
प्रहरी चौकी सुनाचुरी, मकवानपुरबाट खटिएको प्रहरीले माघ १० गते दिउँसो साढेँ १ बजे मनहरी गाउँपालिका–६ स्थित सुनाचुरी चेकपोष्टमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख १२२० नम्बरको मिनी आइचर ट्रकबाट कागजपत्र बिना अबैध रूपमा ल्याइएका सात वटा गोरु सहित चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ।
ट्रक चालक हेटौंडा उपमहानगरपालिका–१५ निवासी २५ वर्षीय अखिल भण्डारी र सहचालक मनहरी गाउँपालिका–७ निवासी अन्दाजी ४२ वर्षीय खडक बहादुर विश्वकर्मालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका गोरु, चालक, सहचालक तथा सवारी साधनलाई आवश्यक कारबाहीका लागि पशु सेवा केन्द्र, हेटौंडा, मकवानपुरमा पठाइएको प्रहरीले जानकारी दिएको छ।







