हेटौँडा, बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा जारी तेस्रो बागमती खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेट खेलमा मकवानपुर विजयी भएको छ । मंगलबार भएको खेलमा धादिङलाई ८९ रनले पराजित गर्दै मकवानपुर विजयी भएको हो ।
हेटौँडास्थित गौरीटार रंगशालामा भएको क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको मकवानपुरले २० ओभरमा ३ विकेटको नोक्सानीमा २२१ रनको योगफल तयार पारेको थियो । मकवानपुरका गोकुल अधिकारी २९ रन र कप्तान शुभ कंसाकार २३ रन बनाउन सफल भए भने गौरभ खड्का ७८ रनमा र सुमन सुनार ६५ रनमा अविजित रहे । धादिङका रुपेश भुजेलले २ विकेट र श्याम त्रिपाठीले १ विकेट लिए ।
२ सय २२ रनको लक्ष्य पछ्याएको धादिङ ८९ रनले पराजित भयो । धादिङ २० ओभरमा ९ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो । धादिङका आरम्भ तिमल्सिनाले ४९ रन, कप्तान अमृत थापाले ३१ रन र अनिष रेग्मीले १० रन बनाए । धादिङका बाँकी खेलाडीहरुले दोहोरो अंकमा रन जोड्न सकेनन् । मकवानपुरको जितका लागि समिर चौलागाईं र राम नरेश गिरीले समान ३–३ विकेट लिए । मकवानपुरका लागि अविजित ७८ रन बनाएका गौरभ खड्का प्लेयर अफ द म्याच घोषित भए ।






