थाहा नगरपालिकामा आठौँ राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप भलिबल प्रतियोगिता सुरु

थाहा, थाहा नगरपालिकामा आजदेखि आठौँ राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप भलिबल प्रतियोगिता सुरु भएको छ। थाहा नगरपालिकाको आयोजना तथा जनकल्याण माध्यमिक विद्यालयको व्यवस्थापनमा जनकल्याण माविको खेल मैदान र इन्द्रायणी चौरमा प्रतियोगिता सञ्चालन भइरहेको छ।

मार्चपाससहित आयोजित उद्घाटन समारोहको उद्घाटन थाहा नगरपालिकाका नगर प्रमुख विष्णु विष्टले गर्नुभएको थियो। प्रतियोगिता माघ १७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

उद्घाटन समारोहमा प्रमुख अतिथि नगर प्रमुख विष्टले खेलकुद क्षेत्रको विकासका लागि नगरपालिकाको बजेट अपर्याप्त भएको महसुस गर्दै आगामी दिनमा बजेट व्यवस्थापन गरी खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले खेलकुदमार्फत थाहा नगरको पहिचान स्थापित गर्न खेलाडीहरूले खुलेर प्रतिस्पर्धा गर्नुपर्ने र थाहाका खेलाडीहरूले छुट्टै पहिचान बनाउँदै गएको बताउनुभयो।

उत्कृष्ट खेलाडी छनोट गरी खेलकुदमार्फत नगरको पहिचान गरिनुपर्नेमा जोड दिँदै नगर प्रमुख विष्टले सीमित बजेटका बाबजुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धित शाखालाई धन्यवाद व्यक्त गर्नुभयो। साथै, विद्यार्थीहरूको खेलकुदप्रतिको लगाव बढाउन आगामी दिनमा खेलकुदको बजेट वृद्धि गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो।

रनिङ शिल्ड व्यवस्थापन विद्यालयका प्रधानाध्यापक रामकुमार बलको स्वागत मन्तव्यसहित सम्पन्न उद्घाटन समारोह नगर खेलकुद विकास समितिका संयोजक टिकाराम स्याङ्तानको अध्यक्षतामा सम्पन्न भएको थियो।

समारोहमा नगर उपप्रमुख भरत गोपाली, थाहा नगर शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख माधव विक्रम मल्ल, शिक्षा समिति सदस्य उर्मिला गोपाली, हरिकृष्ण कार्की, अर्जुन सुनार, राजाराम कार्की, आयोजक समिति सदस्य यादवजंग रायमाझी, मानसिं दोङ, थाहा नगर भलिबल संघका अध्यक्ष वसन्त गोपाली, वडा नं. ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी, वडा नं. ४ का अध्यक्ष नारायण लामा, प्याब्सन थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधान, जनकल्याण माविका अध्यक्ष राजिव स्याङ्तान, इलाका प्रहरी कार्यालय पालुङका प्रमुख रुक्सा बज्राचार्यलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, खेल शिक्षक, खेलाडी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

थाहा नगरपालिकाको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्र–छात्रातर्फ १००, २००, ४००, ८००, १५०० र ३००० मिटर दौड, रिले दौड (१००×४ र ४००×४), हाईजम्प, ट्रिपल जम्प, लङ जम्प, सटपुट, ज्याभलिन थ्रो, कबड्डी, कराते तथा मार्चपास समावेश गरिएको छ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रो हुनेले नगद १५ हजार र तेस्रो हुनेले नगद १० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

त्यस्तै, राष्ट्रपति रनिङ शिल्डको अंकमा जोडिने गरी सञ्चालन हुने मेयर कप भलिबल प्रतियोगिता छात्र र छात्रातर्फ जनकल्याण माध्यमिक विद्यालयको व्यवस्थापनमा भइरहेको छ। मेयर कप भलिबलमा प्रथम हुने विद्यालयले नगद २० हजार तथा दोस्रो हुने विद्यालयले नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। कबड्डीमा प्रथम हुने टिमले नगद १० हजार र दोस्रो हुनेले ६ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

मेयर कप भलिबल तथा मार्चपासका अंक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जोडिने र समग्र अंकका आधारमा विजेता घोषणा गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा नगरभित्रका झम्केश्वरी मावि, सुनौला मावि, मत्स्यनारायण मावि, जनकल्याण मावि, दुर्गादेवी मावि, बज्रबाराही मावि, नाट्यश्वर मावि, स्वच्छन्द भैरव मावि, बागेश्वरी मावि, इन्द्रायणी मावि, सरस्वती मावि, सुन्दरीदेवी मावि, मोर्डन इङ्लिस स्कुल, पालुङ भ्याली हार्ट एकेडेमी, हिमालयन इङ्लिस स्कुल, पालुङ अंग्रेजी आवासीय मावि, इअन इङ्लिस स्कुल र सरस्वती विद्या मन्दिरका विद्यार्थीहरूले १८ विधामा प्रतिस्पर्धा गरिरहेका छन्।

आयोजकका अनुसार मार्चपासमा १७ विद्यालयका करिब ५०० विद्यार्थी सहभागी भएका छन्। करातेमा ५ विद्यालयका ४० जना, भलिबलतर्फ छात्र–छात्रा गरी १३५ जना, कबड्डीमा छात्र ६ टिम र छात्रा ५ टिम गरी ११० जना विद्यार्थी सहभागी छन्।

फिल्ड तथा ट्र्याक विधामा सटपुटमा ३५, ज्याभलिन थ्रोमा ३९, लङ जम्पमा ४५, हाईजम्पमा २८, ट्रिपल जम्पमा ३६ जना विद्यार्थी सहभागी छन्। ट्र्याकतर्फ १०० मिटरमा ४८, २०० मिटरमा ४९, ४०० मिटरमा ४४, ८०० मिटरमा ३३, १५०० मिटरमा ३९ र ३००० मिटर दौडमा २७ जना विद्यार्थी सहभागी भएका छन्। रिले दौडतर्फ १००×४ मिटरमा ४८ र ४००×४ मिटरमा ५६ जना विद्यार्थी सहभागी छन्।

आयोजकका अनुसार फिल्ड र ट्र्याक विधामा सहभागिताका लागि निश्चित मापदण्ड तय गरिएको छ भने रिले दौड समग्र अंक गणनामा समावेश नगरिने व्यवस्था गरिएको छ। कुल १८ विधामा १ हजार ३ सय १८ जना विद्यार्थीले आठौँ राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप भलिबल प्रतियोगिता–२०८२ मा सहभागिता जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *