हेटौँडा, गजलकार कुमार नेगी ‘पालुङ्गे चरो’ लाई यस वर्षको श्रीकृष्ण–तालुमाया नमुना स्मृति गजल सम्मान–२०८२ प्रदान गरिने भएको छ।

आगामी फागुन २ गते आयोजना हुने २३३औँ गजल यात्रा कार्यक्रममा नेगीलाई नगद ५ हजार रुपैयाँ राशिसहित प्रमाणपत्रले सम्मान गरिने गजल मञ्च मकवानपुरका अध्यक्ष संजित श्रेष्ठले जानकारी दिए । साहित्यकार तथा गजल मञ्च मकवानपुरका पूर्व कार्यसमिति सदस्य भोला सिलवालले आफ्ना माता–पिता तथा छोरीको स्मृतिमा पुरस्कार स्थापना गर्नु भएको हो ।
वि.सं. २०५८ सालमा प्रकाशित कुमार नेगीको ‘श्रीजनाका हातहरू’ गजल सङ्ग्रह मकवानपुर जिल्लाबाट प्रकाशित पहिलो गजल कृति हो। जिल्लाको गजल इतिहासमा पहिलो गजल कृति प्रकाशन गरी गजल विधाको विकास, श्रीवृद्धि र प्रवर्द्धनमा पुर्याउनुभएको योगदानको कदरस्वरूप नेगीलाई सम्मान प्रदान गर्न लागिएको गजल मञ्च मकवानपुरका अध्यक्ष श्रेष्ठले जानकारी दिए । उक्त सम्मानबाट यसअघि गजलकार अनिश न्यौपाने ‘भावना’ तथा गजल मञ्च मकवानपुरका संस्थापक एवं पूर्व अध्यक्ष दुर्गा लामिछाने ‘नमुना’ सम्मानित भइसकेका छन्।







