हेटौंडा, आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्तीको सन्दर्भमा नवोदय साहित्यिक बगैँचा बाल क्लवले विशेष कार्यक्रमको आयोजना गरेको छ । हेटौंडा ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा भएको विशेष कार्यक्रममा नृत्य, भानुभक्तको वृत्तचित्र, कविता वाचन र पुस्तक परिचर्चा भएको थियो।
नवोदय साहित्यिक बगैँचा बाल क्लवकी अध्यक्ष विदुषी हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानका निवर्तमान अध्यक्ष तथा मातृभूमि साहित्य समाजका सल्लाहकार हयग्रीव आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । सातवटा विद्यालयले सहभागिता जनाएको पुस्तक परिचर्चा कार्यक्रममा नवोदय शिशु सदनकी स्तुती गुरागाई, आधुनिक राष्ट्रिय माविकी भूमिका ओझा र जीएस निकेतनकी निमिसा निरौला उत्कृष्ट घोषित भएका थिए ।

उत्कृष्ट विद्यार्थीहरुलाई प्रमाणपत्र र पुस्तक प्रदान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट भएका गुरागाईले भानुभक्तको वधु शिक्षा, ओझाले छैनौ कसोरी तिमी र निरौलाले भानुभक्तकै प्रश्नोत्तर पुस्तकको परिचर्चा गरेका थिए । प्रतियोगितामा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिल र नेपाली लेखक संघ मकवानपुरका अध्यक्ष छवि अनित्यले निर्णायकको भूमिका निर्वाह गरेका थिए । भानुभक्त आचार्यको जीवनशैली र योगदानलाई समेटेर वृत्तचित्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा नवोदय शिशु सदन विद्यालयका अनुषा उप्रेती, सासा अधिकारी, लिजा विष्ट, श्रमिक माविका राज आलम, अस्मिता गौतम, आयुषा खातुनले कविता वाचन गरेका थिए ।
नवोदय विद्यालयको तालिम विभागका संयोजक अव्यक्त खनाल, शैक्षिक निर्देशक अरुण दाहाल, मुक्तक मन्च मकवानपुरका अध्यक्ष डीवि बर्तौला, नवोदय साहित्यिक बगैँचा बाल क्लवकी संस्थापक अध्यक्ष इलिसा पराजुलीलगायतको आतिथ्यता रहेको थियो । भानु जयन्तीको सन्दर्भमा नवोदय साहित्यिक बगैँचा बाल क्लवले विगत वर्षदेखि नै विविध कार्यक्रम गर्दै आएको छ ।






