हेटौँडा, बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौँडा उपमहानगरपालिकालाई ‘स्वस्थ सहर’का रूपमा विकास गर्ने अभियान सुरु गरिएको छ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लामा ‘एक जिल्ला, एक स्वस्थ सहर’ घोषणा गर्ने तयारीअन्तर्गत प्रदेशको राजधानीसमेत रहेको हेटौँडाबाट कार्यक्रमको थालनी गरिएको हो। ‘एक जिल्ला, एक स्वस्थ सहर’ कार्यक्रमअन्तर्गत हेटौँडा उपमहानगरपालिका स्तरीय समिति बैठक तथा अभिमुखीकरण कार्यक्रम मंगलबार हेटौँडामा सम्पन्न भएको छ।
कार्यक्रममा स्वस्थ, सुरक्षित र दिगो सहर निर्माणका लागि आवश्यक कार्ययोजना तर्जुमा विषयमा छलफल तथा अभिमुखीकरण प्रदान गरिएको थियो। अभिमुखीकरण कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सूर्यप्रसाद तिवारी र जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख किरण श्रेष्ठले जिल्लाको स्वास्थ्य अवस्थाबारे प्रस्तुतीकरण गर्नुभयो।
विश्व स्वास्थ्य संगठनका बागमती प्रदेश अधिकृत हरि भुसालले स्वस्थ सहर निर्माणका लागि आवश्यक रणनीति तथा कार्ययोजनाबारे जानकारी दिनुभयो। कार्यक्रमअन्तर्गत प्रदेशका प्रत्येक जिल्लामा स्वास्थ्यमैत्री वातावरण निर्माण, आधारभूत स्वास्थ्य पूर्वाधार विस्तार, सरसफाइ र जीवनस्तर सुधार, तथा सहज स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।
जनस्वास्थ्य कार्यालय मकवानपुर र हेटौँडा उपमहानगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जनस्वास्थ्य कार्यालय प्रमुखसहित कर्मचारी, उपमहानगरपालिकाका प्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।







