बालजागृतिमा वृहत् सांस्कृतिक तथा शैक्षिक प्रदर्शनी कार्यक्रम सुरु

हेटौंडा, हेटौंडा–२ मा रहेको बालजागृति इङ्लिस सेकेण्डरी विद्यालयमा वृहत् सांस्कृतिक तथा शैक्षिक प्रदर्शनी कार्यक्रम आइतबारदेखि विद्यालयको प्राङ्गणमा सुरु भएको छ। विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेशप्रसाद भण्डारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ का वडाध्यक्ष विष्णुगोपाल महर्जन प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रमबारे जानकारी दिनुहुँदै विद्यालयका प्रधानाध्यापक विनोद सुवेदीले माघ २५ गतेदेखि २८ गतेसम्म कक्षागत रूपमा सांस्कृतिक कार्यक्रम आयोजना गरिने र माघ २९ गते वृहत् शैक्षिक प्रदर्शनी कार्यक्रम सञ्चालन हुने बताउनुभयो। उहाँले विद्यार्थीहरूको प्रतिभा प्रस्फोटनका लागि स्टेजमार्फत प्रस्तुति दिने यो कार्यक्रम महत्वपूर्ण प्लेटफर्म बनेको उल्लेख गर्नुभयो। प्रधानाध्यापक सुवेदीले विद्यालयले शैक्षिक गतिविधिसँगै बालबालिकाको अन्तर्निहित प्रतिभा उजागर गर्न निरन्तर प्रयास गरिरहेको बताउँदै अभिभावकहरूले तिरेको शुल्क सदुपयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

‘अभिभावकले तिर्नुभएको शुल्क खेर जान दिने छैनौँ, त्यो आफ्ना नानीबाबुहरूको समग्र विकासमै खर्च गर्नेछौँ,’ उहाँले भन्नुभयो। विद्यालयले शुल्क मात्र नलिई त्यसअनुसारको कार्यसम्पादन र मूल्याङ्कनमा पनि अग्रसर भएर काम गरिरहेको उहाँको दाबी रहेको छ। माघ २९ गते कारखानासँग संस्थासँग सहकार्य गरी विषयगत परियोजना कार्यसँग जोडेर विद्यार्थीहरूले शैक्षिक प्रदर्शनीमा आफ्ना सिर्जनात्मक प्रस्तुति प्रस्तुत गर्ने विद्यालयले जनाएको छ।

कार्यक्रममा प्रमुख अतिथि रहनु भएका महर्जनले विद्यालयले आयोजना गरेको यस्ता कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा पहिचान र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा वडा सदस्य इन्द्रप्रसाद रिजाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण तिमल्सिना, प्रधानाध्यापक विनोद सुवेदी, सहायक प्रिन्सिपल अमूल श्रेष्ठलगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए भने पूर्वप्राथमिक तहका विद्यार्थीहरूले सांगीतिक नृत्य प्रस्तुत गरेका थिए।

विद्यालयका अनुसार कार्यक्रम अन्तर्गत माघ २६ गते कक्षा १ देखि ३ सम्म, माघ २७ गते कक्षा ४ र ५, माघ २८ गते कक्षा ६ देखि ९ सम्म सांस्कृतिक कार्यक्रम तथा माघ २९ गते वृहत् शैक्षिक प्रदर्शनी कार्यक्रम आयोजना गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *