हेटौंडा, मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य सङ्गम मकवानपुरको १७ औं अधिवेशन आगामी असोज ३१ गते हुने भएको छ । अधिवेशनमार्फत अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र ४ जना सदस्यसहित ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिने सङ्गमले जनाएको छ।

असोज ३१ गते हुने निर्वाचनको लागि भदौ ११ गतेदेखि असोज ११ गतेसम्म सदस्यता नवीकरण, नयाँ साधारण सदस्यता तथा आजीवन सदस्यता खुला गरिएको सङ्गमका अध्यक्ष डीवि बर्तौलाले जानकारी दिए । सङ्गमले तोकेको शुल्कअनुसार पुरानो सदस्यता नवीकरण शुल्क दुई वर्षका लागि दुई सय रुपैयाँ, नयाँ साधारण सदस्यता शुल्क तीन सय रुपैयाँ र आजीवन सदस्यता शुल्क तीनहजार रुपैयाँ रहेको छ। साहित्यप्रेमी, पाठक तथा साहित्य लेखन क्षेत्रमा रुचि राख्ने व्यक्तिहरूलाई सदस्यता ग्रहण गर्न आग्रह गरिएको छ।
सामान्य सदस्यता पाउनका लागि कुनै पत्रपत्रिका वा अनलाइन पत्रिकामा कम्तीमा दुईवटा साहित्यिक रचना प्रकाशित भएको हुनुपर्ने र सङ्गमले आयोजना गर्ने कार्यक्रममा कम्तीमा एक पटक रचना वाचन गरेको हुनुपर्ने शर्त राखिएको छ। साहित्य सङ्गम मकवानपुरले साहित्य पाटोलाई चलायमान बनाउनको निम्ति नियमित साहित्य सन्ध्या, विभिन्न संघसंस्थासँग सहकार्य गरी विभिन्न गतिविधिहरू तथा स्रष्टा सम्मान कार्यक्रम गर्दै आइरहेको छ ।







