हेटौँडा, गजल मञ्च मकवानपुरद्वारा आयोजित नवसर्जक केन्द्रित सप्ताहव्यापी गजल लेखन प्रशिक्षण कार्यक्रमको पहिलो चरण सफलतापूर्वक सम्पन्न भएको छ। माघ २१ गतेदेखि २८ गतेसम्म सञ्चालन गरिएको उक्त कार्यक्रममा जिल्लाका विभिन्न नौ विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत करिब ३५० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।
प्रशिक्षणमा भानु माध्यमिक विद्यालय (मक्रानचुली), चण्डिका माध्यमिक विद्यालय (गढी), महेन्द्र माध्यमिक विद्यालय (पदमपोखरी), शारदा माध्यमिक विद्यालय (आमभञ्ज्याङ्ग), चन्द्रोदय माध्यमिक विद्यालय (हेटौँडा–८), जनप्रिय माध्यमिक विद्यालय (हेटौँडा–१६), बंशगोपाल माध्यमिक विद्यालय (हेटौँडा–६), ज्योति माध्यमिक विद्यालय (हेटौँडा–७) तथा भुटनदेवी माध्यमिक विद्यालय (हेटौँडा–४) का विद्यार्थीहरू सहभागी भएका थिए।
कार्यक्रमको प्रमुख संयोजन मञ्चका पूर्व अध्यक्ष मुस्कान तिमल्सिना र राम कार्कीले गर्नुभएको थियो। प्रशिक्षण सत्रमा गजलकार विश्वनाथ सञ्जेल, सुनिल गौतम, मञ्चका सल्लाहकार पुरुषोत्तम आचार्य तथा मञ्चका अध्यक्ष संजित श्रेष्ठले सहजीकरण गर्नुभएको थियो। प्रशिक्षण सत्रमा गजलकार विश्वनाथ सञ्जेल, सुनिल गौतम, मञ्चका सल्लाहकार पुरुषोत्तम आचार्य तथा मञ्चका अध्यक्ष संजित श्रेष्ठले सहजीकरण गर्नुभएको थियो।
प्रशिक्षणका क्रममा विद्यार्थीहरूलाई गजल प्रशिक्षण डायरी वितरण गर्नुका साथै गजलको मूलभूत सिद्धान्त, संरचना र प्रयोगात्मक लेखन अभ्यास गराइएको थियो। यस कार्यक्रमले नवसर्जकहरूमा गजलप्रति रुचि अभिवृद्धि गर्नुका साथै गजल विधाको उन्नयन र विकासमा सकारात्मक टेवा पुग्ने विश्वास मञ्चले लिएको छ।






