हेटौंडा, हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको निर्माण कार्य पुनः सुरु गरिएको छ । स्थानीयको विवादका कारण लामो समयदेखि रोकिएको काम मंगलबारदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा टावरका लागि बेस निर्माण प्रक्रिया अगाडि बढाइएको हो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५, १६ र १७ मा स्थानीयको अवरोधका कारण प्रसारण लाइन विस्तारको काम ठप्प थियो । निर्माण कार्य अघि बढाउने क्रममा स्थानीय बासिन्दाले विरोध जनाउँदै अवरोध गर्ने प्रयास गरेपछि केहीबेर अवस्था तनावपूर्ण बनेको थियो । अहिले पनि टावर बनाउने र तार तान्ने स्थानमा प्रहरी परिचालन गरिएको छ ।
प्रभावितले बिना मुआब्जा निजी तथा नम्बरी जग्गामाथि प्रसारण लाइन विस्तार गर्न नदिने अडान लिएका थिए। स्थानीयवासीले बस्तीबीचबाट प्रसारण लाइन लैजान नहुने, लैजानै परे उचित मुआब्जा सुनिश्चित गर्नुपर्ने तथा स्वास्थ्य र दीर्घकालीन असरबारे स्पष्ट जानकारी दिनुपर्ने माग राख्दै आएका थिए ।
हेटौंडास्थित थानाभर्याङ सवस्टेसनदेखि इनरुवा सवस्टेसनसम्म २८८ किलोमिटर प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको थियो । हेटौंडा–ढल्केबर ९१३४ किमि० र ढल्केबर–इनरुवा ९१५४ किमि० मध्ये ढल्केबर–इनरुवा खण्ड सम्पन्न भएर चार्जमा आइसकेको छ ।
हेटौंडा–ढल्केबर खण्ड विभिन्न अवरोधका कारण समयमै सम्पन्न हुन सकेको छैन । आयोजना अन्तर्गत कुल ७ सय ९५ टावरमध्ये ९८ वटा टावर मकवानपुर जिल्लामा पर्छन् । हालसम्म अधिकांश टावर निर्माण सम्पन्न भइसकेका छन् भने अब १४ वटा टावर निर्माण गर्न बाँकी रहेको छ ।
तीमध्ये वडा १५ मा २, वडा १६ मा १० र वडा १७ मा २ वटा टावर निर्माण हुन बाँकी छ । ढल्केबरदेखि हेटौंडा–१७ सम्म तार तान्ने काम पनि सकिएको छ । २०७५ सालमै टावर रहने जग्गा अधिग्रहण गरी मुआब्जा वितरण गरिएको थियो । केहीले मुआब्जा नबुझेको विद्युत आयोजनाले जनाएको छ । साथै तारमूनि पर्ने जग्गाको हकमा भने प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा क्षतिपूर्ति मूल्यांकन समिति गठन गरि कार्य अघि बढाइएको आयोजना निर्देशक श्यामकुमार यादवले जानकारी दिए ।
उनका अनुसार समयमै आयोजना सम्पन्न नहुँदा राज्यले वार्षिक ५ देखि ६ अर्ब रुपैयाँसम्मको क्षति व्यहोर्नुपरेको छ । साढे दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित सन् २०१३ देखि निर्माण सुरु गरिएको यो आयोजनाले अझै पूर्णता पाउन सकेको छैन । हाल संचालनमा रहेको १३२ केभी प्रसारण लाइनको क्षमता करिब २०० मेगावाट मात्र भएकाले हिउँदयाममा विद्युत् प्रवाहमा समस्या हुँदै आएको छ ।(स्रोतः इकान्तिपुर)






