थाहा सञ्चारको वार्षिकोत्सवमा स्वास्थ्य तथा शैक्षिक सामग्री

हेटौँडा, विन्दावासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा सञ्चार ९९.६ मेगाहर्जले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा स्वास्थ्य तथा शैक्षिक सामग्रीसहित आयोडिनयुक्त नुन वितरण गरेको छ। सप्ताहव्यापी कार्यक्रमअन्तर्गत चौथो दिन मकवानपुरगढी गाउँपालिका–५, बुङ्दलस्थित सरस्वती प्राथमिक विद्यालयमा पुगेर विद्यार्थीहरूलाई उक्त सामग्री वितरण गरिएको हो।

ADVERTISEMENT

कार्यक्रम रेडियोका स्टेशन म्यानेजर गोकुल अधिकारीको सभाध्यक्षता तथा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड हेटौँडाका प्रमुख मधुसुधन अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले आयोडिनयुक्त नुनको सही प्रयोगको आवश्यकता औँल्याउँदै यसको नियमित सेवनले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताए। उनले विशेषगरी बालबालिकालाई आयोडिनयुक्त नुन प्रयोग गर्न आग्रह गरे।

राजन अनुरागले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुनबहादुर रुम्बा, प्रधानाध्यापक चतुर्भुज पौडेल, साल्ट ट्रेडिङ कर्पोरेशनका प्रतिनिधि बासुराम अधिकारी, शिक्षक–शिक्षिका तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

ADVERTISEMENT

स्वास्थ्य तथा शैक्षिक सामग्री साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड हेटौँडा, निको हस्पिटल, रतमु फार्मेसी, पूर्वविद्यार्थी दिलकुमार भोम्जन र रुपक भट्टलगायतको सहयोगमा उपलब्ध गराइएको थियो।

वार्षिकोत्सवको अवसरमा रेडियोले विभिन्न कार्यक्रम आयोजना गरेको छ। फागुन १ गते हेटौँडा उपमहानगरपालिका–१ स्थित नेपाल फलफूल तथा तरकारी बजारमा सरसफाइ कार्यक्रम, फागुन २ गते हेटौँडा–४ हुप्राचौरमा महिला पत्रकार तथा अधिकारकर्मीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता तथा फागुन ३ गते ‘थाहा दर्शन’ कार्यक्रम सम्पन्न भइसकेका छन्। आगामी फागुन ५ गते श्रोता मिलन कार्यक्रम, फागुन ६ गते हेटौँडा एकेडेमीसँगको सहकार्यमा बाल साहित्य कार्यक्रम तथा फागुन ७ गते ‘थाहा वर्ष सम्मान’ एवं समापन समारोह आयोजना गरिने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *