हेटौंडा, गाईजात्रा पर्वको अवसरमा बागमती प्रदेश सरकारले साउन २५ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

प्रदेश मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक बिदासम्बन्धी सूचना प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले जानकारी दिइन्।
गाईजात्रा विशेषगरी नेवार समुदायले मनाउने प्रमुख सांस्कृतिक पर्व हो। यो पर्व काठमाडौं उपत्यका, ललितपुर, भक्तपुर, काभ्रे, धादिङ, मकवानपुर लगायत नेवार समुदायको बाक्लो बसोबास रहेका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइन्छ। मृत आत्माको शान्तिको कामना गर्दै गाई वा गाईसरह सिँगारी परिक्रमा गराइने परम्परा यस पर्वको मुख्य विशेषता हो।
नेवार समुदायको मौलिक सांस्कृतिक पहिचान झल्किने गाईजात्रा प्रदेशको सांस्कृतिक विविधता र समावेशीपनको प्रतीकका रूपमा मानिँदै आएको छ। यही महत्वलाई दृष्टिगत गर्दै प्रदेश सरकारले यस वर्षदेखि गाईजात्रालाई सार्वजनिक बिदाको सूचीमा समावेश गरेको हो।
यसअघि गाईजात्राको दिन काठमाडौं उपत्यकाभित्र मात्र स्थानीय बिदा दिइने गरिन्थ्यो। तर अबदेखि बागमती प्रदेशअन्तर्गत सबै जिल्लामा समान रूपमा सार्वजनिक बिदा लागू हुनेछ।






