हेटौँडा, गजल मञ्च मकवानपुरले हरेक महिनाको पहिलो शनिबार नियमित रूपमा सञ्चालन गर्दै आएको साहित्यिक श्रृंखला ‘गजल यात्रा’ को २३२ औँ संस्करण शनिबार हेटौँडामा भएको छ । गजल मञ्च मकवानपुरका अध्यक्ष संजित श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार तथा गजलकार तुलसी घिमिरे प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रमममा अनशुया खनाल, सुजन विश्वकर्मा, चिरञ्जीवी लामिछाने, राजकुमार चौधरी, सुवास सजल, मिथिला अधिकारी, केशव समर्पण, किशन पौडेल, देवराज तिवारी, सानू खनाल र डीवी बर्तौलाले रचना वाचन गरेका थिए । गजल मञ्च मकवानपुरका उपाध्यक्ष हरि पौडेलले स्वागत मन्तव्य राख्दै ‘गजल यात्रा’ को ऐतिहासिक निरन्तरता र यसको साहित्यिक महत्वबारे प्रकाश पारेका थिए ।
कार्यक्रमको औपचारिक सञ्चालन मञ्चका सचिव कमल नेपालले गर्नुभएको थियो । कार्यक्रममा महाकाव्यकार मुना अर्याल, अग्रज साहित्यकार रमेशमोहन अधिकारी, मञ्चका संरक्षक तथा सल्लाहकार मुक्त गोविन्द बैद्य, सिस्नुपानी नेपाल मकवानपुरका निवर्तमान अध्यक्ष राजकुमार लामिछाने, लघुकथाकार समीर पाख्रिन, पूर्व अध्यक्षहरू मुस्कान तिमल्सिना र देवराज तिवारी तथा निवर्तमान अध्यक्ष एवं सल्लाहकार केशव समर्पण, साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीवी वर्तौला, सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष सम्प्रस पौडेल, लघुकथा चौतारी नेपाल मकवानपुरका अध्यक्ष किशन पौडेल, जनसांस्कृतिक महासंघ मकवानपुरका अध्यक्ष राजुराम राउतलगायत गजलकार सानू खनाल, सुवास सजल, मिथिला अधिकारी तथा संगीतकार प्रमेन्द्र महर्जनको आतिथ्य रहेको थियो ।
कार्यक्रममा मकवानपुर जिल्लाका विभिन्न साहित्यिक संघ–संस्थाका प्रतिनिधि तथा अग्रज स्रष्टाहरूको गरिमामय सहभागिता रहेको थियो ।






