सिडिओ र एसपीको विरुद्ध हेटौंडाका जनप्रतिनिधि आन्दोलित

हेटौँडा, हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारी (सीडीओ) स्किम श्रेष्ठ र मकवानपुरका प्रहरी प्रमुख (एसपी) विश्वराज खड्काविरुद्ध आन्दोलन सुरु गरेका छन्। उपमहानगर प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष सविन न्यौपानेमाथि एक महिना अघि भएको आक्रमणका दोषी अझै पक्राउ नपरेपछि जनप्रतिनिधिहरू आन्दोलित बनेका हुन्। दोषीमाथि कारबाही हुन नसकेको र प्रहरी प्रशासनले अनुसन्धानमै लापरवाही देखाएको आरोप लगाउँदै आइतबारदेखि जिल्ला प्रशासन कार्यालय परिसरमै टेबल राखेर सेवा प्रवाह गर्दै विरोध कार्यक्रम सुरु गरिएको हो।

ADVERTISEMENT

२०७८ असार ४ गते दिउँसो करिब साढे ३ बजे वडामा काम गरिरहेका बेला न्यौपानेमाथि एक समूहले आक्रमण गरेको थियो। तर, सो घटनामा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गर्न नसक्दा घटनाको एक महिना पुग्दासमेत पीडितले न्याय नपाएको भन्दै जनप्रतिनिधिहरू आक्रोशित बनेका छन्। ‘एक महिनासम्म पनि दोषी पक्राउ नहुनु प्रहरी प्रशासनको लाचारीपन हो,’ वडा नं. १६ का अध्यक्ष रामकृष्ण कोइरालाले भने, ‘यदि जनप्रतिनिधि नै असुरक्षित छन् भने सर्वसाधारण जनताले सुरक्षा कसरी पाउँछन्रु’
उनका अनुसार पहिलो चरणमा दुई दिनसम्म जिल्ला प्रशासन कार्यालयमै सेवा प्रवाह गर्दै विरोध जनाइने र त्यसपछि थप संघर्षका कार्यक्रम घोषणा गरिनेछ।’

जनप्रतिनिधिहरूले जिल्ला प्रशासन प्रमुख स्किम श्रेष्ठ र प्रहरी प्रमुख विश्वराज खड्काको नेतृत्वमा निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको सम्भावना नरहेको भन्दै वार्ताबाटै इन्कार गरेका छन्। यो प्रकरणअघि पनि हेटौंडाको मध्य बजार क्षेत्रमा दिउँसो व्यवसायीमाथि आक्रमण भएको थियो। सो घटनामा पनि प्रहरी प्रशासनले चासो नदिएको भन्दै व्यवसायीहरू आन्दोलित भएका थिए।

ADVERTISEMENT

प्रहरीले अध्यक्ष न्यौपानेमाथिको आक्रमणमा संलग्नको खोजीसमेत नगरेको आरोप जनप्रतिनिधिहरूले लगाएका छन्। उनीहरूको भनाइमा हालका घटनाक्रमले अन्य वडाध्यक्ष तथा निर्वाचित जनप्रतिनिधिहरूलाई पनि असुरक्षा महसुस गराएको छ। हेटौंडामा हालको सुरक्षा अवस्था प्रति व्यापक असन्तोष देखिएको छ भने जिल्ला प्रशासन र प्रहरी नेतृत्वमाथि चर्को आलोचना भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *