प्रतिनिधिसभा निर्वाचन: मकवानपुरमा दुई अस्थायी मतदानस्थल, १९ स्थल अतिसंवेदनशील सूचीमा

हेटौँडा, फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुर जिल्लामा दुई वटा अस्थायी मतदानस्थल स्थापना गरिएको छ। प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरीप्रसाद ढकालका अनुसार एक मतदानस्थल भीमफेदी कारागारमा र अर्को जिल्ला प्रशासन कार्यालय मकवानपुरमा रहनेछ।

यी अस्थायी मतदानस्थलका लागि कुल ३ हजार ३०७ मतदाता तोकिएका छन्। भीमफेदी कारागारमा हाल महिला र पुरुष गरी ९ सय ९५ जना कैदीबन्दी रहेका छन्। तर मतदाता नामावलीमा भने ७५ जनाको मात्र नाम समावेश भएको छ, जसमा ३ जना महिला र ७२ जना पुरुष रहेका छन्। अन्य कैदीबन्दीहरूको मतदाता सूचीमा नाम नभएको कारागार स्रोतले जनाएको छ। निर्वाचन कार्यालयले मतदाता नामावली संकलनका लागि आवश्यक समन्वय नगर्दा धेरै कैदीबन्दी सूचीमा समावेश हुन नसकेको ती स्रोतको भनाइ छ।

अस्थायी मतदानस्थलमा रहेका मतदाताले समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ।

Advertisement 3

यसैबीच, अस्थायी केन्द्रबाहेक मकवानपुरमा कुल १६७ वटा नियमित मतदानस्थल कायम गरिएको छ। तीमध्ये १९ वटा मतदानस्थललाई सुरक्षाका दृष्टिले अतिसंवेदनशील सूचीमा राखिएको छ। जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा संवेदनशीलताको मूल्याङ्कनका आधारमा जिल्लाका १० स्थानीय तहमध्ये ६ स्थानीय तहअन्तर्गतका मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा समावेश गरेको हो। निर्वाचनलाई सुरक्षित, व्यवस्थित र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *