हेटौंडा, साहित्य सङ्गम मकवानपुरको आयोजनामा ३४० औँ नियमित साहित्य सन्ध्यामा साहित्यकार तुल्सी घिमिरेको ‘माटोको मोह’ कविता पुस्तक लोकार्पण भएको छ । साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीवि बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यतामा घिमिरेको माटोको मोह पुस्तक लोकार्पण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि रहेका सिग्देलले घिमिरेको कविता पुस्तकले नेपालको भाषालाई जोड दिई सामाजिक रुपान्तरणलाई जोड दिएको बताए ।
‘हेटौंडा उपमहानगरपालिका विकासको नयाँ मोडलमा जाँदै छ ।’ वडाध्यक्ष सिग्देलले भने –‘नयाँ मोडलको नेतृत्व हेटौंडा ४ नम्वर वडाले लिने छ ।’ स्थानीय तहले विद्यालयको निगरानी गर्ने भएकोले गर्दा विद्यालयको नतिजा नराम्रो आएमा नगरपालिकाको प्रमुख या वडाध्यक्षलाई खबरदारी गर्नुपर्ने उनले बताए ।
साहित्यकार तुल्सी घिमिरेद्वारा लिखित माटोको मोह कृतिमाथि साहित्य सङ्गम मकवानपुरका पूर्व अध्यक्ष तथा सल्लाहकार सुवास खनाल र समालोचक घनश्याम घिमिरेले समिक्षा गरेका थिए । ४२ वटा कविता समावेश भएको पुस्तकमा ग्रामिण भेगको परिवेश र देशप्रतिको मोह झल्किने कविताहरु समावेश भएको समिक्षकद्वय खनाल र घिमिरेले बताए । कार्यक्रममा ‘शेषज· स्मृति कथा पुरस्कार–२०८०’ ज्ञानदीप शिक्षा निकेतन माविका छात्र समर्पण न्यौपानेलाई र ‘अणकुमारी स्मृति साहित्य पुरस्कार–२०८०’ बाट ज्योति माध्यमिक विद्यालय हर्नामाडिकी छात्रा सुजिता विश्वकर्मालाई प्रदान गरेको छ ।
उनीहरुलाई नगद ५ हजार रुपैयाँसहित प्रमाणपत्रले पुरस्कार प्रदान गरेको थियो । कार्यक्रममा छवि अनित्य, रोशिका भट्टराई, सुमि थिङ, युरोज थिङ, समर्पण न्यौपाने, सुवास सजल र सविता तिमल्सिनाले रचना वाचन गरेको साहित्य सङ्गम मकवानपुरका सचिव मनोज पोखरेलले जानकारी दिए । कार्यक्रममा साहित्य सङ्गम मकवानपुरका सल्लाहकार आरसी रिजाल, अग्रज साहित्यकार देवराज खरेललगायतको आतिथ्यता रहेको थियो ।






