हेटौँडा, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरा बेसीस्थित कुलेखानी–फाखेल–काठमाडौं सडकखण्डमा स्कारपियो गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ च ९७७७ नम्बरको स्कारपियो गाडी चालक निदाउँदा अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल झरेर शाखा बाटोमा खसेको थियो ।
दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन् । घाइतेहरूको स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि एम्बुलेन्समार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
बारा कलैया उपमहानगरपालिका–२ निवासी ३८ वर्षीय चालक विजय यादव, सोही गाडीका सवारी धनी कलैया–७ बरेवा निवासी ५० वर्षीय सन्तोष कुमार गुप्ता, उनकी श्रीमती ४० वर्षीया सोभा गुप्ता, छोरा १६ वर्षीय अनमोल गुप्ता घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनाग्रस्त स्कारपियो घटनास्थलमै रहेको प्रहरीले जनाएको छ । दुर्घटनास्थल प्रहरी चौकी फाखेलबाट करिब ४ किलोमिटर दक्षिण–पश्चिममा पर्छ ।






