जेष्ठ नागरिक र अपाङ्गमैत्री मतदानस्थल बनाउन माग

हेटौँडा, आमनिर्वाचनमा मतदाताको सहभागिता वृद्धि र मतदान प्रक्रियालाई सहज बनाउन जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका लागि मैत्रीपूर्ण मतदानस्थलको व्यवस्था गर्न सरोकारवालाहरूले माग गरेका छन्।

बागमती प्रदेश निर्वाचन कार्यालय, हेटौँडाले बुधबार आयोजना गरेको निर्वाचन समीक्षा तथा धन्यवाद कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूले कतिपय मतदानस्थल अपायक र असहज स्थानमा रहेको भन्दै जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई सहज हुने गरी मतदानस्थल व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका हुन्।

जिल्लाका ग्रामीण क्षेत्रका केही मतदानस्थल जेष्ठ नागरिक तथा अपाङ्गमैत्री नभएकाले मतदानमा सहभागी हुन कठिनाइ हुने गरेको सहभागीहरूले बताएका छन्। यस्तो समस्या समाधान गर्न हाल रहेका केही मतदानस्थललाई स्थानान्तरण गर्न तथा पहुँच सहज बनाउने व्यवस्था गर्नुपर्ने सुझाव उनीहरूले दिएका छन्।

Advertisement 3

सहभागीहरूले केही स्थानमा मतदानस्थल पुग्नका लागि अर्को जिल्लाबाट भएर जानुपर्ने तथा अघिल्लो दिन नै पुगेर बास बस्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै यस्तो अवस्थाले मतदातालाई समस्या सिर्जना गर्ने भएकाले थप मतदानस्थलको व्यवस्था गर्न आवश्यक रहेको बताएका छन्। कार्यक्रममा सहभागीहरूले आमनिर्वाचनमा बदर मतको प्रतिशत बढ्दै गएको भन्दै मतदाता शिक्षालाई अझ प्रभावकारी बनाउन निर्वाचन आयोगलाई आग्रह गरेका थिए।

प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले कार्यक्रममा जिल्लाको मतदाता संख्या, मतदानको अवस्था, बदर मत, बदर हुनुका कारण तथा मतदाता शिक्षासम्बन्धी विषयमा जानकारी गराउनुभएको थियो। उहाँका अनुसार निर्वाचन क्षेत्र नम्बर १ का २३ उम्मेदवारमध्ये पाँच जना र क्षेत्र नम्बर २ का २१ उम्मेदवारमध्ये चार उम्मेदवारले मात्र १० प्रतिशतभन्दा बढी मत प्राप्त गरेका थिए।

मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले राजनीतिक दल तथा उम्मेदवारहरूको सकारात्मक सहयोगका कारण आचारसंहिता पालनासहित सहज र सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको बताउनुभयो।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले निर्वाचनको सुरक्षा अवस्थाको विश्लेषणसहित गरिएको तयारीका कारण निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको जानकारी दिनुभयो। निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत देवेन्द्रराज आचार्यले राजनीतिक दल तथा उम्मेदवारबीचको विश्वास र समन्वयका कारण निर्वाचनका सबै प्रक्रिया सहज रूपमा सम्पन्न गर्न सम्भव भएको बताउनुभयो।

प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ मकवानपुरमा कुल तीन लाख १५ हजार ३३४ मतदातामध्ये एक लाख ८६ हजार ९६९ मत खसेको थियो। यसमध्ये एक लाख ७६ हजार ३४४ मत सदर भएका थिए भने १० हजार ६१५ अर्थात् ५.६८ प्रतिशत मत बदर भएका थिए। यसैगरी समानुपातिकतर्फ कुल तीन लाख १८ हजार ६४१ मतदातामध्ये एक लाख ८८ हजार २६६ मत खसेको थियो। त्यसमध्ये एक लाख ८० हजार ८०९ मत सदर भएका थिए भने सात हजार ४५७ अर्थात् ३.९६ प्रतिशत मत बदर भएका थिए।

दुई वटा निर्वाचन क्षेत्र रहेको मकवानपुर जिल्लामा निर्वाचनका लागि १६७ मतदानस्थल र ३७४ मतदान केन्द्र व्यवस्था गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *