टोल विकास संस्थाको संयुक्त बैठक सम्पन्न, विकास र सरसफाइ केन्द्रित ७ निर्णय

हेटौँडा, हेटौँडा उपमहानगरपालिका–४ मा रहेका टोल विकास संस्थाहरूको संयुक्त बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न भएको छ। शनिबार सम्पन्न बैठकले वडाभित्र विकास, सरसफाइ, तालिम तथा टोल व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित सात वटा महत्वपूर्ण निर्णय गरेको हो।

ADVERTISEMENT

बैठकले वडाभित्र रहेका सबै सडकको सरसफाइ गर्दै कच्ची, खाल्डाखुल्टी, हिलो तथा धुलोमुक्त बनाउने लक्ष्यसहित आर्थिक वर्ष २०८२ भित्र वडा कार्यालयमार्फत योजना कार्यान्वयनका लागि पहल गर्ने निर्णय गरेको छ।

त्यसैगरी आगामी चैत १२ गते वडा नम्बर ४ को आयोजनामा तथा टोल विकास संस्था नगर समन्वय समितिको व्यवस्थापनमा ‘भान्सा नै औषधालय’ कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको छ। कार्यक्रममा वडा नम्बर ४ भित्र रहेका सबै टोल विकास संस्थाको सहभागिता रहने जनाइएको छ।

बैठकले वडा कार्यालयको समन्वयमा सञ्चालन हुन गइरहेको निःशुल्क मन्टेश्वरी तथा कुक तालिममा सूचनामा उल्लेखित मापदण्डअनुसार प्रशिक्षार्थी सहभागी गराउने निर्णय पनि गरेको छ।

यसैगरी आगामी वैशाख महिनामा टोल विकास संस्थाहरूका लागि क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने तथा निर्माणाधीन रजत जयन्ती रोडको अधुरो काम अघि बढाउन सम्बन्धित निर्माण व्यवसायी र कार्यालयसँग पहल गर्ने निर्णय गरिएको छ।

Advertisement 5

टोल सरसफाइ तथा टोलमा देखिने स–साना समस्याको समाधानका लागि प्रत्येक टोल विकास संस्थाले आफ्नो कार्यक्षेत्रमा अध्ययन र पहल गर्ने निर्णय बैठकले गरेको छ। साथै, कार्यकाल सकिए पनि हालसम्म साधारणसभा गर्न बाँकी रहेका टोल विकास संस्थाहरूलाई तत्काल साधारणसभा आयोजना गर्न आग्रह गरिएको छ।

हेटौँडा–४ मा हाल २६ वटा टोल विकास संस्था सक्रिय रहेका छन्। बैठकमा वडा अध्यक्ष नवीन सिग्देल, वडा सदस्य गीता त्रिपाठी, सदस्य जग्गनाथ पाण्डे, टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारी, महासचिव शिवहरी दाहाल, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष राजेन्द्रकुमार बस्ताकोटी, वडा कार्यालयका सचिव रामप्रसाद गुरागाईं तथा वडाभित्रका विभिन्न टोल विकास संस्थाका अध्यक्ष तथा पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *