हेटौंडा, नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशमा संविधानको रक्षा, स्थिरता र समृद्धिलाई जोड्न सत्ता गठबन्धनको नेतृत्वको आवश्यकता रहेको बताएका छन् । मंगलबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा डा। महतले आगामी निर्वाचनपछि सत्ता गठबन्धनको नेतृत्व पनि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले मात्र गर्न सक्ने दावी गरे ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व सहिष्णु नभएकाले सो पार्टीले देश र संविधानको रक्षा गर्न नसक्ने बताए । ‘ओली जीको नेतृत्व देशलाई जोड्ने प्रकृतिको छैन । उहाँको नेतृत्व सहिष्णु पनि छैन,’ उनले भने । डा। महतले अघिल्लो निर्वाचनमा नेकपाले पाँचवर्षे म्यान्डेट प्राप्त गरेपनि त्यसलाई जोगाउन नसकेको बताए ।
केपी आली कै कारण देशमा राजनीतिक अस्थिरता बढेको बताए । एमाले नेतृत्वको सरकार रहदाँ देशमा थुप्रै प्रकारका संकटहरु उत्पन्न भएको र त्यसको असर अहिले देखापरेको उनको भनाइ छ । ‘पाँचवर्षे म्यान्डेट प्राप्त नेकपा फुटेर अहिले तीन टुक्रा भएको छ । त्यसमध्ये दुईवटा दल अहिले हामीसँग गठबन्धनमा हुनुहुन्छ’, उनले थपे ।
उनले देशमा विकासको गति बढाउन गठबन्धनले जित्न जरुरी रहेको औंल्याए । उनले मिश्रित निर्वाचन प्रणाली भएका कारण कुनै पनि दलको बहुमत नआउने भएका कारण गठबन्धन गर्नुपरेको बताए । ‘चुनावपश्चात् गठबन्धन गर्नुभन्दा अहिले लय मिलेकै समयमा गरौं भनेर अगाडि बढेका हौं,’, उनले भने ।
निर्वाचनपश्चात् बन्ने सरकारको नेतृत्व गर्ने विषयमा सत्तारुढ गठबन्धनभित्र सहमति भइनसकेको उनको भनाइ छ । उनले आगामी सरकारको नेतृत्व प्रधानमन्त्री देउवा वा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने भन्ने विषयमा कुनै औपचारिक निर्णय वा सहमति नभएको उनले प्रष्ट पारे ।
‘आगामी चुनाव पछि सरकारको नेतृत्व प्रचण्डजीले गर्ने भनेर उहाँले दावी गर्नु भएको छैन । समर्थक शुभेच्छुकले भन्नु भएको होला । प्रधानमन्त्रीको विषयमा औपचारिकरुपमा कुनै सहमति भएको छैन’, उनले भने ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ सिटमध्ये सत्तारुढ गठबन्धनको नेतृत्व गर्दै ९१ मा कांग्रेस एक्लैले उम्मेदवारी दिएको कारण पनि कांग्रेसले गठबन्धनको नेतृत्व गरिरहेको प्रष्ट हुने उनको भनाइ थियो । ‘प्रत्यक्षतर्फको ७४ सिटमा गठबन्धनमा रहेको अन्य चार दलको उम्मेदवारी रहेको छ ।








