हेटौँडा, मकवानपुरमा प्रारम्भिक चरणदेखि गरिएको सचेतना, पूर्वतयारी र निगरानी प्रणालीको प्रभावका कारण यस वर्ष हालसम्म वन डढेलोका घटनाले ठूलो क्षति पुर्याउन नपाएको बताइएको छ। ‘वन डढेलो व्यवस्थापन सप्ताह’ अन्तर्गत आयोजित पत्रकार सम्मेलनमार्फत डिभिजन वन कार्यालय मकवानपुरले यस्तो जानकारी दिएको हो।
डिभिजन वन कार्यालयका प्रमुख राकेश प्रसाद चन्द्रवंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एक हप्तासम्म सञ्चालन गरिएको विशेष अभियानका गतिविधि तथा उपलब्धिबारे विस्तृत प्रस्तुतीकरण गरिएको थियो। वन अधिकृतहरूका अनुसार विगतका वर्षहरूमा देखिएका चुनौतीलाई ध्यानमा राख्दै यस वर्ष सुरुआतमै सचेतनामूलक कार्यक्रम र पूर्वतयारीका कामहरू तीव्र पारिएको हो।
‘वन डढेलो व्यवस्थापन सप्ताह’ अन्तर्गत जिल्लाका विभिन्न वन क्षेत्रमा जनचेतना अभिवृद्धि, जोखिमयुक्त क्षेत्र पहिचान, निगरानी संयन्त्र सुदृढीकरण तथा स्थानीय समुदायसँग समन्वय विस्तार गरिएको छ। सामुदायिक वन उपभोक्ता समूहहरूसँग सहकार्य गर्दै सम्भावित जोखिम क्षेत्रमा सरसफाइ, सचेतना अभियान तथा आगो नियन्त्रणका उपकरण तयारी अवस्थामा राखिएको जनाइएको छ।
कार्यक्रममा वन अधिकृत हेम कुमार पाठकले विगतका प्रयास र आगामी रणनीतिबारे प्रस्तुती दिएका थिए। उनले वन डढेलोका प्रमुख कारण मानवीय लापरबाही, जथाभावी आगो बाल्ने प्रवृत्ति, अव्यवस्थित घाँस–दाउरा संकलन तथा मौसमीय प्रभाव रहेको उल्लेख गर्दै यसको न्यूनीकरणका लागि समुदायस्तरमै सचेतना अपरिहार्य रहेको बताए।
उनका अनुसार आगामी दिनमा तापक्रम वृद्धि र सुख्खा मौसम लम्बिँदै जाने भएकाले डढेलोको जोखिम अझै उच्च रहनेछ। त्यसलाई मध्यनजर गर्दै नियमित गस्ती, अग्नि रेखा निर्माण, द्रुत उद्धार टोली तयारी तथा आवश्यक उपकरण व्यवस्थापनलाई प्राथमिकता दिइनेछ। डिभिजन वन कार्यालयले यस वर्ष हालसम्म विगतका वर्षहरूजस्तो ठूलो क्षति नभएको दाबी गर्दै यसलाई प्रभावकारी पूर्वतयारी, जनचेतना विस्तार र निगरानी प्रणालीको उपलब्धि मानेको छ।
कार्यक्रममार्फत सर्वसाधारणलाई वन क्षेत्रमा जथाभावी आगो नबाल्न, डढेलो देखिएमा तुरुन्त जानकारी गराउन र वन संरक्षणमा सक्रिय भूमिका खेल्न आग्रह गरिएको छ। वन संरक्षण र वातावरणीय सन्तुलन कायम राख्न वन डढेलो नियन्त्रण सबैको साझा जिम्मेवारी भएकोमा सहभागीहरूले जोड दिएका छन्। कार्यक्रममा डिभिजन वन अधिकृत बसन्तराज गौतम, विशाल भट्टराई, दिपक अधिकारीलगायतको उपस्थिति रहेको थियो।






