हेटौँडा, यही चैत १३ गतेदेखि १६ गतेसम्म बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी मेला २०८२ आयोजना हुने भएको छ। मकवानपुर उद्योग वाणिज्य संघको कृषि प्रवर्द्धन समितिको संयोजनमा पहिलोपटक आयोजना हुन लागेको उक्त मेलाबारे मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।
संघका अध्यक्ष प्रमोद सिंह रानाभाटका अनुसार मेलाको मुख्य उद्देश्य बागमती प्रदेशका किसानहरूको मनोबल अभिवृद्धि गर्नुका साथै युवाशक्तिलाई कृषितर्फ आकर्षित गर्नु रहेको छ। हेटौँडास्थित पल्पसा सदनमा सञ्चालन हुने मेलाको उद्घाटन बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री मधुसुदन पौडेलले गर्ने कार्यक्रम तय गरिएको छ।
मेलामा मकवानपुरसहित सिन्धुली, रामेछाप, काभ्रे, काठमाडौं र चितवन जिल्लाका कृषक तथा कृषि उद्यमीहरूको सहभागिता रहनेछ। प्रदर्शनीमा ४० वटा स्टल निःशुल्क उपलब्ध गराइनेछन्, जहाँ विभिन्न कृषि उत्पादन तथा परिकारहरू प्रदर्शन र बिक्रीका लागि राखिनेछन्।
प्रदर्शनीमा कोदो, जुनेलो, फापरको पिठो, गेडागुडी, मह, मसला, बाँसका सामग्री, केराका परिकार, अचार, धुप, गोबरबाट बनेका दीयो, म्याट, मस्यौरा, क्यान्डी, आलु, गुन्द्रुक, जुनार जुस, दाना, अण्डा, तेल, च्याउ, माछा तथा डेरीजन्य उत्पादनहरू समेटिनेछन्। साथै आधुनिक कृषि प्रविधिसम्बन्धी उपकरणहरूको पनि प्रदर्शनी गरिने आयोजकले जनाएको छ।
कार्यक्रम सञ्चालनका लागि हेटौँडा उपमहानगरपालिकामार्फत कार्यान्वयन हुने गरी कुल ५ लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। यसमध्ये ५ लाख रुपैयाँ बागमती प्रदेश सरकारबाट प्राप्त हुने र बाँकी रकम संघको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने बताइएको छ। आयोजकका अनुसार मेलाले स्थानीय उत्पादनको बजारीकरण, कृषिमा नवप्रवर्तनको प्रवर्द्धन तथा किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।






