हेटौंडा, बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लम्पी स्किन रोग नियन्त्रण तथा रोकथामका लागि प्रदेशका १३ वटै जिल्लामा बिहीबारबाट सप्ताहव्यापी खोप अभियान सुरु भएको छ । गाई भैँसीमा पछिल्लो समय प्रकोपको रूपमा फैलिएको लम्पी स्किन रोगविरुद्ध अभियानअन्तर्गत प्रदेशका ९१ वटा स्थानीय तहमा ५० हजार पशुलाई खोप लगाउने लक्ष्य राखिएको छ ।
विहीबारबाट सुरु भएको सप्ताहव्यापी खोप अभियान अन्तर्गत पहिलो दिनमै ४ हजार ४ सय ६७ पशुलाई खोप लगाइएको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए । जसमा २ हजार २२ गाई, ३६२ बाच्छा/बाच्छी, २६२ गोरु, १९६ साढेँ, ४७२ भैँसी, १२ राँगो र १४४ पाडापाडी रहेका छन् । मन्त्रालयका पशु विकास अधिकृत डा. निशान्त गेलालले बागमती प्रदेशमा हालसम्म दुई लाख चार हजार ९८८ पशु यो रोगबाट प्रभावित बनेको जानकारी दिए । उनले लम्पी स्किन रोगबाट सक्रिय सङ्क्रमित पशु एक लाख १० हजार ४४०, रोग लागेर मरेका छ हजार २९१ र खोप लगाइएका पशुको संख्या एक लाख ३२ हजार नौ सय रहेको बताए ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिकाबाट सुरु भएको यो रोगबाट सबैभन्दा बढी काभ्रे, सिन्धुपाल्चोक, दोलखा र सिन्धुली जिल्ला भएका छन् । पशु विकास अधिकृत गेलालका अनुसार खोप अभियानअन्तर्गत १४६ जना भ्याक्सिनेटरद्वारा पशुलाई खोप लगाइने छ । अभियानका लागि ७५ लाख रुपियाँ विनियोजन गरिएको छ ।







