हेटौँडा, नेपाली सेनाले भर्ना छनौट प्रक्रियामा योग्य उम्मेदवारहरूको आकर्षण बढाउने उद्देश्यले ‘भर्ना छनौट कार्यशाला २०८२’ आइतबार हेटौँडामा आयोजना गरेको छ। नेपाली सेना भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाको आयोजना तथा गोरखबहादुर गण, सुपरेटारको समन्वयमा मध्यपृतना हेडक्वार्टर, हेटौँडामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा निर्देशनालयका निर्देशक सहायक रथी रोजप्रताप जबराले सबै योग्य नेपाली युवाहरूलाई सेनामा भर्ना हुन आह्वान गर्दै आवेदकको क्षमता र योग्यताका आधारमा निष्पक्ष छनौट गरिने स्पष्ट पारे। सेनाले पदपूर्तिका लागि आह्वान गरिएका पदहरूमा आवेदकको संख्या वृद्धि गर्ने तथा योग्य उम्मेदवारहरूलाई भर्ना प्रक्रियाबारे आवश्यक जानकारी प्रदान गर्ने उद्देश्यले उक्त कार्यशाला आयोजना गरिएको गोरखबहादुर गण, सुपरेटारका गणपति प्रमुख सेनानी रविन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
कार्यक्रममा भर्ना छनौट प्रक्रियाबारे निर्देशनालयका प्रमुख सेनानी निरज भण्डारी तथा गुणमापन परीक्षाबारे प्रमुख सेनानी रवि केसीले प्रस्तुतिकरण दिएका थिए। उक्त कार्यक्रममा मध्यपृतनापति उपरथी विष्णुकुमार खड्का, नम्बर–७ बाहिनी अड्डा चनमनका सहायक रथी विक्रम गुरुङ, ६ नम्बर बाहिनी अड्डा बैरेनीका सहायक रथी शुवासजंग थापा, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर लगायत हेटौँडाका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक तथा सेवा निवृत्त सेनाका अधिकृतहरूको सहभागिता रहेको थियो।







