मकवानपुरमा अब घरदैलो सेवा सुरु हुने

हेटौँडा, नेपाल सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची कार्यान्वयन गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय मकवानपुरले सेवाग्राहीलाई घरदैलोमै सेवा उपलब्ध गराउने तयारी थालेको छ। सरकारको कार्यसूची अन्तर्गत सर्वसाधारणलाई घरदैलो सेवा प्रवाह गर्ने बुँदा नम्बर २७ कार्यान्वयन गर्न जिल्ला हुलाक कार्यालयसँग पहिलो चरणको समन्वयात्मक छलफल गरिएको हो।

ADVERTISEMENT

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जिल्ला हुलाक कार्यालय मकवानपुरका हुलाक अधिकृत रमेश लामिछानेसँग घरदैलो सेवाका लागि हुलाक सेवाको प्रभावकारी प्रयोगबारे छलफल गरेका हुन्। प्रारम्भिक चरणमा जिल्ला प्रशासन कार्यालयबाट सेवा लिएका ५ सय राहदानी सेवाग्राहीसम्म हुलाकमार्फत घरमै सेवा पुर्‍याउने प्रणाली विकास गर्ने तयारी गरिएको प्रजिअ अधिकारीले जानकारी दिए। यसका लागि हुलाक कार्यालयको वर्तमान क्षमता, जनशक्ति, आवश्यक बजेट तथा स्रोतसाधनबारे समेत अध्ययन भइरहेको छ।

यसैगरी, मकवानपुरका ९१ वटा सरकारी निकायबाट प्रवाह हुने सेवाहरूलाई क्रमशः घरदैलोमै पुर्‍याउने योजना बनाइएको छ। हुलाक अधिकृत रमेश लामिछानेका अनुसार हाल स्रोतसाधनको अभाव तथा सुरक्षा संवेदनशीलताका कारण जिल्लाभर तत्काल सेवा विस्तार गर्न सम्भव नभए पनि हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र भने आगामी वैशाखको सुरुदेखि सेवा सुरु गर्न सकिनेछ। प्रमुख जिल्ला अधिकारी अधिकारीले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै हेटौँडा उपमहानगर क्षेत्रभित्र एकैदिन र अन्य पालिकामा अधिकतम भोलिपल्टसम्म सेवा पुर्‍याउने लक्ष्य राखिएको बताए। उनले राहदानीसँगै नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० लगायतका सेवाहरूलाई पनि क्रमशः घरदैलो सेवामा समेट्ने योजना रहेको उल्लेख गरे।

हाल जिल्ला हुलाक कार्यालय मकवानपुरमा ४६ जना कर्मचारी कार्यरत रहेका छन् भने जिल्लाभर ९ वटा पालिका हुलाक, २ वटा हुलाक काउन्टर र एउटा जिल्ला कार्यालयमार्फत सेवा प्रवाह भइरहेको छ। कार्यालयले दैनिक रूपमा सरकारी कागजात तथा वैदेशिक पार्सलसहित करिब एक सय चिठ्ठीपत्र वितरण तथा ओसार–प्रसार गर्दै आएको छ। साथै, जिल्लाका सञ्चार माध्यमहरूलाई लोककल्याणकारी विज्ञापन वितरणको समन्वय समेत गर्दै आएको छ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *