हेटौँडा, मकवानपुरका विभिन्न स्थानमा शुक्रबार भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
पहिलो दुर्घटना हेटौँडाबाट फुर्केचौरतर्फ जाँदै गरेको ना ३९ प ३७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा प्र ०३–००५ प ७२१९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको हो। दुर्घटनामा मकवानपुर बागमती गाउँपालिका–६ निवासी ४० वर्षीय अन्तबहादुर बिसी र हेटौँडा–१८ निवासी ३५ वर्षीय राजु थिङ घाइते भएका छन्। उनीहरूको खुट्टा, मुख तथा टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। उनीहरूको अवस्था मध्यम रहेको छ।
यस्तै, अर्को मोटरसाइकल चालक हेटौँडा–१८ निवासी ३८ वर्षीय सूर्यमणि खतिवडा गम्भीर घाइते भएका छन् भने १०–१२ वर्षीय प्रशान्त वाइबा सामान्य घाइते भएका छन्। उक्त दुर्घटनामा घाइते एक पुरुषको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुल्ने क्रममा रहेको बताइएको छ। दुवै मोटरसाइकल प्रहरी चौकी ठुलोदमारको नियन्त्रणमा रहेका छन्।
यसैबीच, दोस्रो दुर्घटना मकवानपुरको बागमती गाउँपालिका–७ पाथिभरा स्थित मदन भण्डारी लोकमार्गमा भएको हो। हेटौँडाबाट ताप्लेजुङतर्फ जाँदै गरेको प्र ३–०१–०२३ च ३०८१ नम्बरको कारले सडक किनारमा रोकिराखिएको ना २ ह ४५९२ नम्बरको अटोलाई ठक्कर दिँदा दुर्घटना भएको हो। ठक्करपछि दुवै सवारी साधन सडकको नालीमा खसेका थिए।
दुर्घटनामा अटोमा सवार बागमती गाउँपालिका–७ निवासी ४० वर्षीया चिनीमाया रुम्बा गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि हेटौँडा अस्पताल ल्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। यस दुर्घटनामा अटो चालक बागमती गाउँपालिका–८ निवासी २५ वर्षीय यमन राई र अटोमा सवार ११ वर्षीय सुबिन पुलामी मगर घाइते भएका छन्। उनीहरूको अवस्था क्रमशः सामान्य र मध्यम रहेको छ। उनीहरूको चुरेहिल अस्पताल, मकवानपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
कार चालक काठमाडौं गोकर्णेश्वर–६ निवासी ३५ वर्षीया सुजना लामा सकुशल रहेकी छन्। उनलाई इलाका प्रहरी कार्यालय फापरवारीले नियन्त्रणमा राखेको छ। दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।






